काठमाडौँ । लगातार दुई दिन बढेको शेयर बजारमा आज गिरावट आएको छ। लगानीकर्ता नाफा बुक गर्ने हाबी हुँदा बजारमा घट्न गएको जानकारहरूको धारणा छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.०८ अकंले घटेर २७१५.९१ बिन्दुमा कायम भएको छ। आज ३१५ कम्पनीको १ करोड ६९ लाख १७ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ९१ करोडको शेयर कारोबार भएको छ ।
आज ११ वटा उपसूचक राताम्य भएका छन्। आज बैंकिङ समूहको ०.५७ प्रतिशत, विकास बैंक समूहको २.६० प्रतिशत, फाइनान्स समूहको १.७० प्रतिशत, होटल तथा पर्यटन समूहको १.७९ प्रतिशतले शेयर मूल्य घटेको छ।
लामो समयसम्म घटेकाको बजार अब माथि जानका लागि आधारहरू तय भएको देखिन्छ। लामो समयसम्म करेक्सन हुँदा भाउ सस्तो भएको छ । करेक्सन र साइडवेज अवधि अब लगभग पूरा भएको अनुमान गर्न सकिन्छ।
बजारले करेक्सन र साइडवेज हुँदै करिब ६ महिना समय व्यतीत गरिसकेको छ । यसबिचमा ३ हजारको तहमा पुगेको नेप्से घटेर २४ सयकै लेबलमा आयो । पछिल्लो समय नेप्से २७८० को तहसम्म आए पनि त्यसभन्दा माथि जान सकेन ।
यति बेला अधिकांश कम्पनीको दोस्रो त्रैमासको रिपोर्ट पनि आइसकेको छ । धेरैजसो सूचीकृत कम्पनीहरूले लाभांश घोषणा गरी साधारण सभासमेत सम्पन्न गरिसकेका छन् । सेयरधनीको खातामा धमाधम लाभांश पठाउने क्रम चलिरहेको छ । कम्पनीहरूको दोस्रो त्रैमासको रिपोर्टहरू आइरहेका छन् ।
बैंकिङ प्रणालीमा अधिक तरलता र निकै सस्तो ब्याजदर रहेको अवस्था छ । यी सबै कुराहरूले सेयर बजारमा अब सकारात्मक माहौल आउन सक्ने विश्लेषणहरू भइरहेका छन् । सस्तो ब्याजदरका कारण यति बेला आम लगानीकर्ताले कर्जा लिएर सेयर बजारमा प्रवेश गर्ने क्रम समेत बढेको तथ्यांकले देखाएको छ ।
ठुला लगानीकर्ताहरू कर्जा लिएर सेयर बजार प्रवेश गर्ने क्रम अझै बढी रहेको केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्यांकले पुष्टि गरेको छ । ठुला तथा संस्थागत लगानीकर्ताको सक्रियता बढ्दा बजारले गति लिन सक्ने अनुमान लगाउन सकिन्छ ।
यस दिन ३१५ कम्पनीको १ करोड ६९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३० करोड ८७ लाखभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी अग्रस्थानमा रहेको छ ।