काठमाडौं । गीतकार तथा पूर्वसचिव दिनेश अधिकारीसहित चार पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा चार जना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको भन्दै उनिहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
प्रहरीका एक अधिकृतका अनुसार फाइल टिप्पणी उठाउने र सदर गर्ने कार्यमा जोडिएको आशंकामा अधिकारीसँगै सचिवहरु दीप बस्न्यात, छविराज पन्त र नारायणगोपाल मलेगोविरुद्ध पनि पूर्जी जारी भएको छ । टिकिन्छा गुठीमा जग्गा लैजान उठाइएको टिप्पणी आदेश सदर गरेका अधिकारी २०६८ माघ २३ देखि २०६९ कात्तिक १४ सम्म भूमिसुधार मन्त्रालयको सचिव थिए ।
नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतका अनुसार तत्कालीन सचिव दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायणगोपाल मलेगोविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
उनका अनुसार पूर्वसहसचिव सुधीर साह पक्राउ परिसकेका छन् भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्तसमेत रहेका दीप बस्न्यात भने फरार छन् ।
ललिता निवास प्रकरणमा चारजना पूर्वसचिवविरुद्ध प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएको हो ।