काठमाडौं । भाग्य र अवसरमा मात्रै भर नपरी सही सोच र मेहनतका साथ कुनै पनि कामलाई निरन्तरता दिन सक्यो भने जीवनमा सफलता प्राप्त गर्न सकिन्छ ।
सही सोच, मेहनत, र समर्पणका साथ अघि बढ्न सकेमा कुनै पनि लक्ष्य प्राप्त गर्न सम्भव छ भन्ने उदाहरण हुन कास्कीका श्याम गुरुङ । अन्नपूर्ण ४ कास्की पोखरामा जन्मिएका गुरुङ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका एक सफल बीमा अभिकर्ता हुन् ।
जीवनका आउने हरेक किसिमका उतारचढावलाई अवसरको रूपमा लिँदै अघि बढेमा कुनै पनि काममा असफल हुनु नपर्ने मान्यता उनको छ ।
वैदेशिक रोजगार, ग्यारेज तथा पार्टी प्यालेस समेत सञ्चालन गरेर पनि नथाकेका श्यामले अन्त्यमा आएर सामाजिक कार्यसँगै बीमा अभिकर्ता पेसामा जोडिने निर्णय गरे । धेरै मिहेनत पनि गरे । र आजको दिनसम्म आइपुग्दा पछाडि फर्केर हेर्नुनपरेको उनको भनाई छ । कक्षा १२ को पढाइ सकिएसँगै श्याम साथीहरूको लहैलहैमा लागेर रोजगारीको खोजीमा साउदीतिर उडे ।
करिब २ वर्ष साउदीमा दुःख गरेपछि नेपाल फर्किए । र ग्यारेजको काम सुरु गरे । त्यसपछि उनले अझ धेरै पैसा कमाउनको लागि पार्टी प्यालेस समेत सुरु गरे । समाजका लागि पनि केही गर्नुपर्छ भन्ने सोच राख्ने श्यामले सामाजिक काम गर्ने सोच बनाए । सोही समयमा उनलाई पढाएका गुरुले सानिमा रिलाइन्स इन्स्योरेन्समा अभिकर्ता बन्न सुझाव दिएका थिए ।
उनले हामीसँगको कुराकानीको क्रममा भने, ‘जुन काम गरे पनि एक हिसाबले सफल नै भए । म थोरै समाजसेवा समेत गर्न मन पराउने मान्छे भएकोले करिब ७ वर्ष पहिले सानिमा रिलाइन्स इन्स्योरेन्स, साबिकको सानिमा लाइफ इन्स्योरन्सको स्थापना भयो । मलाई पढाउनु भएका एक जना सरले मलाई अभिकर्ता बन्न सुझाव दिए । सोही सुझावको कारण आज म यो ठाउँमा छु ।’
७ वर्ष पहिले अभिकर्ता पेसामा जोडिएका श्याम अहिले सानिमा रिलाइन्स लाइफ इन्स्योरेन्स पोखरा शाखामा चिफ एजेन्सी म्यानेजरको रूपमा काम गरिरहेका छन् । भने, उनले यो अवधिमा करिब ५ सय भन्दा बढी मानिसलाई बीमामा जोडिसकेका छन् ।
आफूलाई अभिकर्ता बनेर काम गर्दै गर्दा खासै गाह्रो नभएको भन्दै सफल हुनको लागि सकारात्मक सोच एकदमै महत्त्वपूर्ण हुने उनको भनाई छ ।
‘बीमा अभिकर्ता पेसा नाम र दाम कमाउनको लागि एकदमै सजिलो पेसा हो । असफलताहरूलाई अवसरको रूपमा लिएर समस्याहरूको समाधान खोज्नका लागि सकारात्मक दृष्टिकोण अपनाउनुभयो भने जुन काम पनि सजिलो नै लाग्दो रहेछ ।’ उनले भने ।
यसका साथै अभिकर्ता पेसामा सफल हुनको लागि नैतिक मूल्यहरूको पालना गर्दै इमानदारिता महत्त्वपूर्ण हुने उनले सुनाए । आफ्नो विभिन्न लक्ष्य प्राप्त गर्नका लागि ग्राहकलाई ठग्ने तरिका प्रयोग गर्नु नहुने उनको सुझाव छ ।
उनी भन्छन्, ‘कुनै पनि बीमा कम्पनीलाई मानिसहरूको पहुँचमा र्पुयाउनमा अभिकर्ताको नै मुख्य हात हुन्छ । त्यस कारण अभिकर्ता आफैमा सक्षम, मिहिनेती र अध्ययनशील हुनुका साथै लगनशील पनि हुनुपर्छ ।’
सानिमा रिलाइन्स लाइफमा श्याम अभिकर्ताको रूपमा लगातार ४ पटक एमडीआरटी समेत भैसकेका छन् । आफू सन् २०२०, २०२२, २०२३ २४ मा लगातार ४ वर्ष एमडीआरटी बन्न सफल भएको उनले सुनाए ।
यस क्षेत्रमा काम गर्दै गर्दा आफूलाई सबैले राम्रो सहयोग गरेको उनले हामीसँगको कुराकानीको क्रममा सुनाए ।
प्लस २ सम्मको अध्ययन गरेका उनले अभिकर्ता पेसामा आबद्ध रहेर काम गर्दै गर्दा उनले देश तथा विदेशका विभिन्न स्थानहरूको भ्रमण गरिसकेका छन् ।
विभिन्न पेसालाई छाडेर अभिकर्ता बनेका गुरुङ यस पेसाबाट हुने कमाइमा सन्तुष्ट नै देखिन्छन् । उनका अनुसार बीमा भनेको जीवनलाई सुरक्षा प्रदान गर्दै भविष्यको खर्चको लागि बचत गर्ने एक महत्त्वपूर्ण प्रक्रिया हो ।
उनले भने, ‘जीवन अनमोल छ, तर उत्तिकै अनिश्चित पनि छ । तपाईँको जीवनको अर्को चरण के हुनेछ भनेर निर्धारण गर्न असम्भव छ । त्यस कारण आफ्नो जीवनका साथै आफ्ना परिवारहरूको भविष्य शान्त र सुरक्षित पार्ने एक माध्यम भनेको नै बीमा हो । जसले जोखिम विरुद्ध जीवन सुरक्षा प्रदान गर्दै भविष्यको खर्चको लागि बचत बढाउने अवसर प्रदान गर्दछ ।’