बैतडी । जयपृथ्वी राजमार्गमा दिनहुँ पहिरो खसेर सडक अवरुद्ध हुने गरकाे छ । बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्गमा दिनहुँ पहिरो खसेर सडक अवरुद्ध हुँदा यात्रुलाई सास्ती भएको छ ।

राजमार्गअन्तर्गत बैतडीको श्रीभावर, ज्यापु, ढोल्यामोड, मोतीनगरसहित विभिन्न ठाउँमा पहिरो खस्ने गरेको हाे ।

बझाङ जिल्ला जोड्ने र बैतडीका पनि सिगास, सुर्नया गाउँपालिका र पुर्चौडी नगरपालिका पनि यही राजमार्ग भएर जानुपर्दछ । यही असार १० गतेदेखि हालसम्म उक्त राजमार्ग पाँचपटक बन्द भइसकेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । दिनमा सयौँ गाडी आवतजावत गर्ने राजमार्ग बेला–बेलामा अवरुद्ध हुने गर्नाले समस्या हुने गरेको यात्रुहरूले बताएका छन् ।

यो राजमार्गको घुम्ती कटिङ गरेर स्तरोन्नतिको काम सञ्चालन भएकाले झनै समस्या भएको छ । घुम्ती कटिङ गरेका स्थानमा पानी परेपछि पहिरो गएका छन् ।

बेला–बेलामा पहिराले राजमार्ग अवरुद्ध हुँदा सास्ती हुने गरेको सिगास गाउँपालिका–९ जालहाल्लाका लक्ष्मी चन्दले बताए । पहिराले घन्टौँसम्म सडक अवरुद्ध हुँदा आकस्मिकरूपमा यात्रा गरिरहेका यात्रुलाई बढी समस्या हुने गरेको छ ।

लगातारको वर्षाका कारण राजमार्गअन्तर्गत ज्यापुमा सडक माथिबाट ठूलो ढुङ्गा खसेपछि असार १७ गते राति बन्द भएको सडक १८ गते बिहानदेखि सञ्चालन भएको थियो । यसअघि असार १७ गते पनि सोही राजमार्गको सुर्नगा गाउँपालिका–८ ढोल्यामोड र सुर्नया गाउँपालिका–६ मोतीनगरमा पहिरो खसेर अवरुद्ध भएको थियो ।

असार १६ गते पनि सो राजमार्गअन्तर्गत बैतडीको सुर्नया–८ आलुगैरामा, असार १४ गते पाटन नगरपालिका–८ ज्यापुमा, असार १० गते सिगास गाउँपालिका–९ श्रीभावरमा पहिरो खस्दा यातायात सेवा पूर्णरूपमा बन्द भएको थियो ।