काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा १२ करोड ४३ लाख ८२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
सीडीएसका अनुसार आज (फागुन १ गते) साँझ ५ः०६ बजेसम्म ४७ हजार ६४५ जनाले १२ लाख ४३ हजार ८२० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ६.९१ गुणा बढी आवेदन हो ।
कम्पनीले माघ २१ गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले १ लाख ८० हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको लागि आइपीओ जारी गरेको हो ।
ओम मेगाश्रीले नेपाल धितोपत्र बोर्डबाट कुल १८ लाख कित्ता प्राथमिक सेयर निष्कासनको अनुमति पाएको थियो । जसको १० प्रतिशत अर्थात १ लाख ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्री खुला गरेको हो ।
आइपीओको निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
यसमा लगानीकर्ताले फागुन ५ गतेसम्म आवेदन दिनु पर्नेछ । आवेदन दिने न्यूनतम कित्ता १० र अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।