काठमाडौँ । पछिल्लो एक वर्षको अवधिमा नेपाल बीमा प्राधिकरणले करिब डेढ अर्ब बराबरको नाफा कमाएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०/ ८१ मा १ अर्ब ३२ करोड ७९ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।
प्राधिकरणले अघिल्लो आर्थिक वर्ष २०७९/८० मा १ अर्ब २५ करोड ५४ लाख ४६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा प्राधिकरणले ५.७७ प्रतिशत अर्थात् ७ करोड २४ लाख ७२ हजार रुपैयाँ बढी नाफा आर्जन गर्न सफल भएको छ ।
त्यस्तै बीमा प्राधिकरणका अनुसार गत वर्ष प्राधिकरणले १ अर्ब ६४ करोड ११ लाख रुपैयाँ सञ्चालन आम्दानी र २ अर्ब १४ करोड ८९ लाख रुपैयाँ कुल आम्दानी गरेको छ। अघिल्लो वर्ष प्राधिकरणले १ अर्ब ५७ करोड ७९ लाख रुपैयाँ सञ्चालन आम्दानी र २ अर्ब १४ करोड ४६ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो।
साथै, गत वर्ष प्राधिकरणले व्यवस्थापक खर्च अन्तर्गत १६ करोड २४ लाख ९२ हजार रुपैयाँ र कुल खर्च ३७ करोड ८३ लाख १४ हजार रुपैयाँ गरेको देखिएको छ। अघिल्लो वर्ष व्यवस्थापन खर्च २८ करोड ३६ लाख रुपैयाँ र कुल खर्च ४६ करोड ८० लाख ८१ हजार रुपैयाँ गरेको थियो । साथै गत वर्ष प्राधिकरणले कर्मचारीहरूका लागि १९ करोड १९ लाख २० हजार रुपैयाँ खर्च गरेको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष प्राधिकरणका कर्मचारी खर्चमा १८.६८ प्रतिशतले वृद्धि भएको छ ।
गत वर्ष ४४ करोड २६ लाख ६१ हजार रुपैयाँ आयकर तिरेको प्राधिकरणले आव २०८०/८१ को असारसम्ममा कुल सम्पत्ति १० अर्ब १५ करोड ७५ लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष कुल सम्पत्ति ८ अर्ब ७६ करोड ८१ लाख रुपैयाँ थियो ।
साथै, बीमा प्राधिकरणको पछिल्लो वार्षिक प्रतिवेदन अनुसार, २०८०/८१ को एक वर्षमा नेपालमा झन्डै ५२ हजार अभिकर्ता थप भएका छन् । प्राधिकरणले पछिल्लो समय अनलाइन माध्यमबाट परीक्षा लिएर बीमा अभिकर्ता लाइसेन्स वितरण गर्दै आएको छ।
१ वर्षको तथ्यांक अनुसार नेपालको बीमा बजारमा झन्डै ५२ हजार अभिकर्ता थपिएका छन्। २०८०/८१ को आर्थिक वर्षमा नेपालमा कुल ३ लाख २९ हजार ५७२ अभिकर्ता सक्रिय रहेका छन्, जुन अघिल्लो वर्ष २०७९/८० भन्दा १८.७१ प्रतिशतले वृद्धि भएको हो।