काठमाडौँ । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी हिनामिना आरोपमा सञ्चार मन्त्रालयका सचिव कृष्ण बहादुर राउतलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको हो ।

राउतले २०६७ असारमा भौतिक योजना तथा निर्माण मन्त्रालयमा शाखा अधिकृत हुँदा विशिष्ट व्यक्तिहरूको निवास बिस्तार सम्बन्धमा गुरुयोजना तयार गर्ने प्रस्तावको टिप्पणी उठाएका थिए । २०६७ असार २८ मा भौतिक योजना तथा निर्माण मन्त्रालयका तत्कालीन सचिव दीप बस्न्यातले सो टिप्पणी सदर गरी मन्त्री विजय गच्छदारकहाँ पेश गरेका हुन् ।

निवास बिस्तार र ललिता निवास क्षेत्रमा बाटो बिस्तार गर्दा २७ रोपनी जग्गा हिनामिना भएको पाइएकाे छ । त्यस्तै सभामुख निवासबाट एनआरएनए भवन तर्फ जाने बाटोमा ८ रोपनी जग्गा परेको छ ।

सो प्रस्तावमा तत्कालीन सह–सचिव नारायणगोपाल मलेगोले टिप्पणीमा राय सहित पेश गरेका थिए । पूर्व सचिव मलेगो विरुद्ध पनि अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।