काठमाडौं । अन्ततः गुगल र फेसबुक पनि नेपालको करको दायरामा आएका छन् । यसअघि सरकारले सामाजिक सञ्जाल, माइक्रोसफ्ट लगायत डिजिटल विज्ञानपनहरुलाई समेत करको दायरामा ल्याउने निर्णय गरेपनि कम्पनीहरु आउन तयार भएका थिएनन् । तर, पछिल्लो पटक आन्तरिक राजस्व विभागले तारन्तार ताकेता गरेपनि कम्पनीहरु नेपालको करको दायरामा आउन बाध्य भएका हुन् ।
सरकारले चालु आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत डिजिटल सर्भिस ट्याक्स (विद्युतीय सेवा कर) को स्पष्ट नीति ल्याएको थियो । योसँगै आन्तरिक राजस्व विभागले विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स) सम्बन्धी कार्यविधि र सो सेवामा मूल्य अभिवृद्धि करसम्बन्धी कार्यविधि समेत निर्माण गर्दै साउन १, २०७९ बाट उक्त कार्यविधि कार्यान्वयनमा ल्याएको थियो । योसँगै गुगल, फेसबुक र माइक्रोसफ्टसहित ६ वटा ठूला कम्पनीहरु नेपालको कर प्रणालीमा आबद्ध भएका छन् ।
कार्यालयका अनुसार सिङ्गापुरमा कार्यालय स्थापना गरी सञ्चालनमा रहेका गुगल एसिया प्यासिफिक प्राइभेट लिमिटेड, माइक्रोसफ्ट रिजनल सेल्स प्राइभेट लिमिटेड र लिङ्क्डइन सिङ्गापुर प्राइभेट लिमिटेड नेपालको कर प्रणालीमा आबद्ध भएका हुन् । यसले आगामी दिनमा अन्य कम्पनीहरुलाई समेत करको दायरामा समेटिएर औपचारिक रुपमा व्यापार गर्न सहज वातावरण बनेको आन्तरिक राजस्व विभागले जनाएको छ।








