काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनामा वस्तु आयात र निर्यात दुबै घटेको छ । नेपाल राष्ट्र बैंकले ११ महिनामा वस्तु आयात १६ प्रतिशत र निर्यात २२.७ प्रतिशत घटेको जनाएको हाे ।

राष्ट्र बैंकले कुल वस्तु निर्यात २२.७ प्रतिशतले कमी आएको जनाएको छ । जसअनुसार वस्तु आयात रु.१४३ अर्ब ५९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ५३.३ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ३२.२ प्रतिशतले कमी आएको छ भने चीन तथा अन्य मुलुकतर्फको निर्यात क्रमशः १०६.७ प्रतिशत र ९.९ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, अलैंची, ऊनी गलैंचा, तयारी पोशाक लगायतका वस्तुको निर्यात बढेको बैंकले जनाएको छ । यस्तै सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० को एघार महिनामा कुल वस्तु आयात १६ प्रतिशतले कमी आई रु. १४८० अर्ब ९८ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २७.५ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १४.८ प्रतिशत, १७.१ प्रतिशत र १८.५ प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा रासायनिक मल, स्पोन्ज आइरन, सुन, कागज, अन्य स्टेशनरी सामान लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, एमएस विलेट, औषधी, कच्चा भटमासको तेल, अन्य मेशिनरी तथा पार्टस्लगायतका वस्तुको आयात घटेको बैंकले जनाएको छ । निर्याततर्फ भैरहवा, सुक्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, रसुवा, तातोपानी र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्पm रसुवा भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।

आर्थिक वर्ष २०७९/८० को एघार महिनामा कुल वस्तु व्यापार घाटा १५.२ प्रतिशतले कमी आई रु.१३३७ अर्ब ३९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.७ प्रतिशत रहेको छ ।