काठमाडाैं । नेपालमा प्रतिबन्धित अनलाइन जुवा ‘वान एक्स बेट’ प्रकरणमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले आइतवार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

कुल ११ जनालाई प्रतिवादी बनाएर सट्टेबाजीसम्बन्धी कसूर र नेपाल राष्ट्र बैंक ऐन–२०५८ को दफा ९५ को उपदफा (१) र (२) बमोजिम ६४ करोड ९४ लाख २९ हजार ८२० रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि नेउपानेले बताए ।

मुद्दा दायर गरिएकामा दिनेश खड्का, अनिता धिताल, बेगम नेपाली, रोशन खतिवडा, अलिस राई, राजु पौडेल, मरिचमान श्रेष्ठ, जलन घर्ती मगर, सरोज घिमिरे, गणेश देवकोटा र कुशल पोखरेल रहेका छन् । यो मुद्दामा एक जना भने फरार रहेका छन् ।

खड्का र धितालले वान एक्स बेट सट्टेबाजीमा एजेन्टका रूपमा काम गरेको पाइएको छ भने कलाकार र युट्युबरहरू विज्ञापन गरेको अभियोगमा पक्राउ परेका हुन् ।

प्रतिवादीमध्ये खड्का र धितालमाथि कुल ६४ करोड ९४ लाख २९ हजार ८ सय २० रुपैयाँ बिगो कायम गरिएको छ । कलाकार र युट्युबरहरूको हकमा भने विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ५ उपदफा २ (ढ) अनुसार कसुर गरेकाले सोही ऐनको दफा २५ (२) अनुसार सजाय हुनुपर्ने माग दाबी लिइएको छ ।

दफा ५ (२) (ढ) मा प्रचलित कानूनविपरीत विज्ञापन गर्न नहुने उल्लेख छ । त्यस्तो कसुर गरेमा दफा २५ (२) अनुसार १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था छ ।