काठमाडौँ । गत साता २८१८ अंकमा रहेको बजार यो साता २७३६ अंकमा झरेको छ। समग्रमा फागुन महिनाकै अन्तिम कारोबारका दिन शेयर बजारले आशा देखाएर बन्द भएको छ । लगातार ७ दिन बजार घटे पनि साताको अन्तिम कारोबारका दिन बजार बढ्नुले के संकेत देखाउँछ ?
बजारलाई प्रभाव पार्ने आर्थिक सूचकहरू सबै सकारात्मक छन्। माघ मसान्तसम्मको राष्ट्र बैंकको वित्तीय रिपोर्ट अनुसार उच्च विदेशी मुद्रा सञ्चिति, भुक्तानी सन्तुलन बचत, रेमिट्यान्सको वृद्धिदर कायम, घटेको ब्याजदर, पर्याप्त लगानीयोग्य रकम जस्ता सबै वित्तीय सूचक बजार अनुकूल छन् । र पनि बजारमा किन गिरावट आएको होला ? लगायतका प्रश्न सहित आर्थिक भ्वाइसले शेयर विश्लेषक तथा लगानीकर्ता सुवासचन्द्र भट्टराइ लाई सोधेको छ । प्रस्तुत छ भट्टराइको विचार
शेयर बजारले नयाँ लगानीकर्तालाई निराश बनाएको हो ?
शेयर बजारमा धैर्यता कायम हुनु जरुरी छ । हामीले दैनिक उतारचढावको स्थितिलाई हेरेर यसको व्याख्या गरेका छौ । यो यसरी पर्याप्त हुन सक्दैन भन्ने मलाई लाग्छ । बजारमा नयाँ बनेर आउने र छोटो समयमा नै पर्याप्त लाभ कमाउने सोच बोकेर आएका लगानीकर्ताको कारण बजारको सन्तुलन झनै गुमेको छ ।
यसकारण नयाँ लगानीकर्ता लाई निरुत्साहित गरेको जस्तो देखिन्छ तर वास्तवमा त्यस्तो होइन । शेयर बजारले न नयाँ न पुराना कसैलाई निरुत्साहित बनाएको छ । बजार त हाम्रो सेन्टिमेन्टलमा भर पर्ने कुरा हो । हाम्रो मनोवैज्ञानिकता कस्तो छ, हामी कति दीर्घकालीन सोचेर लगानी गरेका छौ भन्ने मुख्य विषय हो भन्ने लाग्छ ।
मेरो आफ्नो अनुभवको कुरा गर्ने हो भने मलाई लाग्छ आगामी चार पाँच वर्षसम्मको अवधिमा सबैभन्दा लो विन्दु भनेकै यही चैत्र महिनासम्म हो । चैत्र महिना स्टक मार्केटका लागि अपसिजन मानिन्छ यसकारण यो महिनामा सामान्य विन्दु हुनु स्वाभाविक हो । आर्थिक वर्षको भूइविन्दु भनेकै चैत्र महिना हो तर चैत्र महिनामै बजारले लय समाउन सुरु गरेको छ । यसले अब निरन्तरता पाउँछ भन्ने मेरो बुझाई छ ।
शेयर बजारलाई कसरी बुझ्ने ?
शेयर बजार वास्तवमै कमाउने ठाउँ हो। यहाँ प्रवेश गर्ने भनेकै दीर्घकालीन रूपमा कमाउनकै लागि हो तर यहाँ कस्तो भएको छ भने आज प्रवेश गर भोली नाफा चाहियो । यस्तो हुन सम्भव छैन र भएको राम्रो पनि हैन । यहाँ त धैयता चाहिन्छ , बजारको आकलन चाहिन्छ , उतारचढावको लेखाजोखा हुनुपर्छ । यी सबै सबै कुराको पर्याप्त ज्ञान नभएकै कारण बजार अस्थिर भएको छ अस्थिर बजारले लगानीकर्ताको भलो गर्न सक्दैन भन्ने मेरो मान्यता हो ।
जसरी बुझ्नुपर्थ्यो त्यसरी सही बुझाई नभएकै कारण बजारमा पटक पटक उकालो ओरालोको उतारचढाव आएको छ । बजारप्रतिको बुझाई र दीर्घकालीन लगानीको दृष्टिकोण राख्न सक्यो भने बजार र लगानीकर्ता दुवैको फाइदा हुन्छ । अरूले भनेको भरमा, कतै सुनेको वा अरूको नाफा कमाएको देखेको भरमा बजारमा प्रवेश गर्नेहरूको कारण सबैलाई समस्या पैदा हुने गर्दछ यसकारण बजारमा प्रवेश गर्नुअघि कम्तीमा पनि किन लगानी गर्ने, कस्तो कम्पनीमा लगानी गर्ने र कति समयको लागी लगानी गर्ने जस्ता आधारभूत विषय जान्न जरुरी छ भन्ने मेरो धारणा हो ।
बजारको उतारचढावलाई कसरी हेर्ने ?
हाम्रो दैनिकी नै कस्तो भएको छ भने दैनिक बजारको मात्रै चिन्ता गर्ने, दैनिक रूपमा भएको घटबढको मात्रै लेखाजोखा गर्ने यो समस्यामा समाधान होइन बरु समस्या माथिको समस्या हो भन्ने लाग्छ । किनकि हामीले यस्तो साँघुरो र छोटो ढङ्गले शेयर बजारको यात्रालाई मापन गर्न मिल्दैन हाम्रो दृष्टिकोण दीर्घकालीन हुनुपर्ने विषयमा मैले माथि पनि भनिसकेको छु । जस्तो कि गत वर्षको फागुन चैत्र महिनासँग यस वर्षको सोही अवधिलाई तुलना गरेर हेर्ने हो भने हाम्रो बजार ४० प्रतिशतले अझै माथि नै छ ।
एक दुई दिनको घटबढको अवस्थालाई हेरेर लगानीकर्ता विश्लेषक सबैले बजार घट्यो, फेरि ओरालो लाग्यो, लगानीकर्तामा निराशा छायो भन्ने किसिमको बुझाई छ तर त्यस्तो होइन हामीले लामो दूरीमा यसको मापन गर्नुपर्छ भन्ने लाग्छ । आर्थिक वर्ष २०८१, ८२ को सबैभन्दा तल्लो बिन्दु भनेकै यही चैत्र महिना हो भन्नेमा कुनै शंका छैन यसकारण मैले दोहोर्याएर भन्छु २, ३ वर्षको लागी नै सबैभन्दा तल्लो वा लो विन्दु हुने भनेकै यही महिना मात्रै हो । वैशाख,जेष्ठ असारमा महिना सकिएसँगै बजारको लो बिन्दु पनि सकिन्छ र बजारको उकालो यात्रा क्रमशः बढेर जान्छ ।
लगानीकर्ताले के ख्याल गर्ने ?
लगानीकर्ताले मुख्यतया बजार दैनिक रूपमा बढ्दैन यसमा करेक्सन पनि आउँछ र आउन जरुरी पनि छ भन्नेमा प्रस्ट हुन आवश्यक पहिलो कुरा । दोस्रो भनेको यो कुनै निश्चित अवधिको खेल होइन लामो रेसको यात्रा हो यसकारण हामीमा धैर्यता हुनु जरुरी छ भन्ने महसुस गर्ने, आफूले कस्तो कम्पनी रोज्दै छु , त्यसको विगतका अवस्था र आधारहरू कस्तो छन् भन्नेमा ध्यान दिने र कस्तो बेलामा किन्ने र कुन समयमा बेच्ने भन्ने बजारको चक्रलाई ख्याल गर्ने ।
गभर्नरको नियुक्ति प्रक्रिया अगाडि बढेको छ , बजार र गभर्नर बिचको सम्बन्ध कस्तो हुन्छ ?
पहिलो कुरा गभर्नर माथि हामी लगानीकर्ताको कुनै अपेक्षा नै हुँदैन , बजारको विषयमा उनी यसो बोलिदिए हुने भन्ने पनि हामीलाई लाग्दैन । किनकि शेयर बजार र गभर्नरको बिचमा प्रत्यक्ष सम्बन्ध हुने पनि होइन। नीतिगत पोलेसिका विषय हुन त्यो स्वाभाविक रूपमा यो भन्दा अझै उपयुक्त हुने अवस्थाहरू देखिदैन् । गभर्नरले शेयर बजारलाई राम्रो गर्नुपर्दैन केबल देशको अर्थतन्त्रलाई राम्रो र सबल रूपमा अगाडि बढ्ने नीति बनाए पुग्छ । स्टक मार्केटका लागि भिन्नै वा छुट्टै केही गर्नुपर्छ भन्ने नै होइन , देशको अर्थतन्त्र चलायमान बनाएको खण्डमा शेयर बजारको अवस्था त्यो भन्दा माथि जान्छ । अर्थतन्त्रलाई कसिलो बनाउँदा बित्तिकै स्टक मार्केट साँघुरिन जान्छ यसकारण जति अर्थतन्त्र खुकुलो र चलायमान बनाउनुहुन्छ त्यति नै बजार बढेर जान्छ, लगानी भित्रिँदै जान्छ यसकारण अब आउने गभर्नरले विगतका कमजोरी सुधार गर्दै आगामी नीति खुकुलो बनाउनेमा ध्यान दिन जरुरी छ भन्ने लाग्छ ।
शेयर बजारलाई अर्थतन्त्रको ऐना भनिए पनि नेपालको हकमा फुटेको ऐना हो कि भन्ने जस्तो लाग्छ । हाम्रो बजारमा नीतिको अभाव छ , बजारको मूल मर्म र अनुशासन कायम हुन नीति पोलेसी नै पहिलो र मुख्य कुरा हो यसकारण नीतिगत संरचना र चलायमान अर्थतन्त्र निर्माणमा अबको गभर्नरको ध्यान पुग्न जरुरी छ भन्ने मेरो धारणा हो ।
बजारमा आत्तिने मात्तिने दुवै सकिन्छन्, त्यस्तै ब्रोकरको उधारोमा खेल्ने मान्छे पनि सकिन्छन् । यसकारण आफ्नो पुँजीबाट राम्रो कम्पनी छनोट गर्ने र आफूले लगानी गरेको कम्पनीले आफूलाई लामो समयसम्म रिटर्न दिन सक्छ भन्नेमा प्रस्ट हुने र बजारमा आएको उतारचढावलाई समेत स्वीकार गर्न सक्ने लगानीकर्ता हुन आवश्यक छ । बजारमा लगानीको लागी पढेर जानेर बुझेर आएको खण्डमा ३२ सयको बिन्दु क्रस गरेको स्वाद लिन सकिनछ । अन्तिममा आगामी साउन भदौसम्म हामीले ३२ सयको बिन्दु पार गर्ने र आगामी ८३ सालको भदौसम्म ४ हजार र अन्ततः ५ हजारको बिन्दु हामीले छुन्छौ भन्नेमा म प्रस्ट छु यो आधार तय हुँदै गएको छ ।