काठमाडाैं । एकैदिन बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप २० अर्ब रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार असार २४ गते एकैदिन बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप २० अर्ब रुपैयाँले बढेको हो ।
योसँगै बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५७ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो दिनसम्म कुल निक्षेप ५६ खर्ब ९५ अर्ब रुपैयाँ थियो ।
वाणिज्य बैंकहरुको निक्षेप पनि असार २४ गते १९ अर्ब रुपैयाँले बढेको छ । गत असार २३ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५० खर्ब ३१ अर्ब रुपैयाँ रहेकोमा असार २४ गतेसम्म बढेर ५० खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ ।
बैंकहरुको कर्जा लगानी भने स्थिर देखिएको छ । गत असार २३ र २४ गते बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ४८ खर्ब ६१ अर्ब रुपैयाँ र वाणिज्य बैंकहरुको मात्रै ४३ खर्ब १ अर्ब रुपैयाँ रहेको छ ।
असार २४ गतेसम्म बैंकहरुको औसत सीडी रेसियो घटेर ८२.०३ प्रतिशतमा झरेको छ । अघिल्लो दिनसम्म औसत सीडी रेसियो ८२.३१ प्रतिशत थियो ।
त्यस्तै अन्तरबैंक ब्याजर १.३६ प्रतिशतमा झरेको छ । अघिल्लो दिन असार २३ गते अन्तरबैंक ब्याजदर २.९९ प्रतिशत थियो ।