काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूले सेयर धितो कर्जा (मार्जिन लोन) को मात्रा बढाएका छन् ।
२०८१ माघ मसान्तसम्म सेयर धितोमा एक खर्ब १५ अर्ब ११ करोड रुपैयाँ कर्जा प्रवाह गरेको नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ ।

यस अवधिसम्म बैंक तथा वित्तीय संस्थाले ६७ खर्ब ३१ अर्ब ७९ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी ५४ खर्ब ३३ अर्ब ४३ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका राष्ट्रबैंकको तथ्याकंमा उल्लेख छ ।

अघिल्लो वर्ष २०८० माघ मसान्तमा सेयर धितोमा ८५ अर्ब १७ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । गत वर्षको कर्जा प्रवाहलाई हेर्दा एक वर्षमा बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा २९ अर्ब ९३ करोड ८० लाख रुपैयाँ कर्जा बढाएका छन् ।

वाणिज्य बैंकहरूले गत माघसम्म सेयर धितोमा ९३ अर्ब १२ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन एक वर्षअघिको तुलनामा २६ अर्ब ५३ करोड १० लाख रुपैयाँ बढी हो । अघिल्लो वर्षको माघ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा ६६ अर्ब ५९ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

त्यस्तै सोही अवधिमा विकास बैंकहरू गत माघसम्म सेयर धितोमा १७ अर्ब ८९ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत वर्ष माघसम्म विकास बैंकहरूले सेयर धितोमा प्रवाह गरेको कर्जा १४ अर्ब ९० करोड रुपैयाँ थियो । एक वर्षको तुलनामा दुई अर्ब ९९ करोड ३० लाख रुपैयाँ बढी कर्जा प्रवाह गरेका छन् ।

फाइनान्स कम्पनीहरूले गत माघसम्म सेयर धितोमा चार अर्ब नौ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत वर्ष माघ मसान्तसम्म तीन अर्ब ६७ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । यो अन्तरलाई हेर्दा एक वर्षमा ४१ करोड ४० लाख रुपैयाँ बढी  कर्जा प्रवाह भएको हो ।

कर्जाको ब्याजदर सस्तो भएकोले बैंकबाट ऋण लिएर शेयर बजारमा लगानी गर्ने क्रम बढेको छ । उपभोग बढ्न नसक्दा उत्पादनमूलक क्षेत्रमा लगानी बढ्न भने सकिरहेको छैन । बैंकबाट सस्तो ब्याजदरमा ऋण लिएर शेयर बजारबाट सेयर किन्नेहरू बढेका कारण बैंकहरूले सेयर धितोमा प्रवाह गरेको कर्जाको आकार बढेको हो ।