काठमाडौँ । साताको अन्तिम कारोबारका दिन पनि शेयर बजारमा गिरावट आएको छ । यस साता भएको ५ कारोबारका दिन नै शेयर बजारमा गिरावट आएको हो ।

यस साता शेयर बजारमा लगातार गिरावट आएको छ । निरन्तर घट्दो बजारको पछाडि कुनै विशेष आर्थिक कारण नभएको भए पनि लगानीकर्ताको मनोबल कमजोर बन्न पुग्दा र सत्ता फेरबदलका हल्लाका कारण शेयर बजारमा गिरावट आएको मान्न सकिने जानकारहरूको भनाई छ ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.३८ अंकले घटेर २६६९.७६ बिन्दुमा कायम भएको छ। आज ३१२ कम्पनीको ९५ लाख ९९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड रुपैयाँको कारोबार भएको छ।

आज कारोबार भएकामध्ये ६२ कम्पनीको मूल्य बढ्दा १७५ को घटेको छ । बाकी ७ को कम्पनीको स्थिर रहेको छ । आज जीवन बीमा सेक्टर ०.०३ प्रतिशत बढेको छ ।

फाइनान्स सेक्टर सबैभन्दा धेरै १.३५ प्रतिशतले घटेको छ भने बैंकिङ ०.३७, विकास बैंक ०.२०, होटल तथा पर्यटन ०.५०, हाइड्रोपावर ०.६४, लगानी ०.१०, माइक्रोफाइनान्स ०.५५ र निर्जीवन बीमा ०.९६ प्रतिशतले घटेको छ।

सूचकमा निरन्तर ह्रास आउँदा कारोबार रकम न्यून हुदै गएको छ । अधिकांश क्रेता तथा बिक्रेताहरू यति बेला ‘पर्ख र हेर’ को रणनीतिमा रहेको देखिएको छ । विश्लेषण भन्दा विपरीत बजारको दृश्य देखिएको कारण आगामी सातादेखि बजारमा सुधारको स्थिति देखा पर्न सम्भावना बढेको बजार विश्लेषकहरूको भनाई छ ।