काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि सेयर निष्कासन गर्ने भएकाे हाे ।
कम्पनीले साउन ४ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गर्ने जनाएको छ ।
कम्पनीले २५ लाख कित्ता साधारण सेयर मध्ये आयोजना अति प्रभावित रसुवा जिल्लाको उत्तरगया गाउँपालिका–१ का स्थानीयका लागि ५ लाख ७१ हजार ४३० कित्ता सेयर निष्कासन गर्ने छ ।
त्यस्तै आयोजना प्रभावित रसुवा जिल्लाको उत्तरगया गाउँपालिका–२, ३, ४ र ५ तथा नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका–५ का स्थानीयका लागि २ लाख ८५ हजार ७२० कित्ता र रसुवा जिल्लाका अन्य स्थानीयका लागि १ लाख ४२ हजार ८५० कित्ता सेयर जारी निष्कासन गर्ने कम्पनीले जनाएको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने छ । आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । स्थानीयले छिटोमा साउन १८ गते र उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा भदौ १ गतेसम्म आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले भने साउन १८ गतेसम्म आवेदन दिन सक्नेछन् । आयोजना प्रभावितले बिक्री प्रबन्धक सानिमा क्यापिटलका साथै सानिमा बैंक र एनएमबि बैंकका स्थानीय शाखाबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् ।