काठमाडौँ — अमेरिकी राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेसँगै ६३ नेपाली नागरिक निष्कासन (डिपोर्ट) मा भएका छन् । चरणबद्ध रूपमा अमेरिकी सरकारले उनीहरूलाई नेपाल फिर्ता गरेको हो ।
ट्रम्पको दोस्रो कार्यकाल सुरु भएको तेस्रो दिनदेखि अर्थात् २२ जनवरीदेखि अमेरिकाले आधिकारिक कागजातबिना बसोबास गरिरहेका आप्रवासीलाई निष्कासन गर्ने अभियान चलाएको छ । पहिलो दिन नै एक नेपाली निष्कासनमा परेका थिए । ७ महिला र ५६ पुरुष गरी ६३ नेपालीलाई अमेरिकाले फर्काएको अध्यागमन कार्यालयले जनाएको छ । साथै यो संख्यामा थप वृद्धि हुने संकेत रहेको अध्यागमन विभागको भनाई छ ।
त्यस्तै, अमेरिकामा ३० दिनभन्दा बढी समय बसोबास गर्ने विदेशी नागरिकले ‘एलियन रजिस्ट्रेसन एक्ट’ अन्तर्गत दर्ता गर्नुपर्छ भएको छ । अमेरिकामा ३० दिनभन्दा बढी समयदेखि बसोबास गर्ने सबै विदेशी नागरिकले संघीय सरकारमा दर्ता गर्नुपर्छ र यो ऐन पालना नगर्नेलाई जरिवाना, जेल वा दुवै सजाय हुने डोनाल्ड ट्रम्पको संकेत छ ।
यदि तपाईँले दर्ता नगरीकन बसेको खण्डमा पक्राउ गरेर जरिवाना गरिने, देश निकाला गरिने र कहिल्यै सोही देश फर्कन नसक्ने अमेरिकी सरकारको संकेत छ । यसैबीच, अमेरिकी गृह सुरक्षा विभागले अप्रिल ११ मा जारी गरेको प्रेस विज्ञप्तिमा विदेशी नागरिकलाई पनि यस ऐनअन्तर्गत दर्ता गर्न भनिएको थियो ।