काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा विभिन्न तहको ट्रान्सक्रिप्ट तथा प्रोभिजनल सर्टिफिकेटका लागि आजदेखि अनलाइनबाटै फारम भर्न सकिने भएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार आज बिहान ११ बजेदेखि अनलाइन सेवा सुरु गरिएको हो ।

अनलाइन सेवा सुरु भएपछि विद्यार्थीलाई परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगी कागजी फारम भर्न र बुझाउन लाइन लाग्नुपर्ने झन्झटबाट मुक्ति मिल्ने जनाइएको छ ।

परीक्षा नियन्त्रक जोशीले आफ्नै पद्धति तयार गरी अनलाइन सेवा कार्यान्वयनमा ल्याइएको बताए । तत्कालका लागि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवदेनका लागि अनलाइन सेवा सुरु गरिएको र बिस्तारै अन्य सेवाहरू पनि क्रमशः लागू गर्दै लैजाने योजना रहेको उनले बताएका छन् ।

परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको सूचना अनुसार आगामी जेठ १५ गतेदेखि परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट दिइने सम्पूर्ण सेवा अनलाइनबाट सञ्चालन गरिने छ ।

विद्यार्थीले student.tuexam.edu.np मा लग इन गरी दिइएको निर्देशन पालना गरी फारम भर्न सक्नेछन् । साथै तोकिएको शुल्क संलग्न बैंक मार्फत् अनलाइनबाट भुक्तानी गरी सबमिट पनि गर्न सकिने छ ।

यसका लागि प्रारम्भिक चरणमा रजिष्ट्रेसन कार्डमा उल्लेख भए बमोजिम मार्कसिटहरूमा एकरूपता भए सोही अनुसार गर्ने अन्यथा सच्याएर बुझाउनु पर्ने परीक्षा नियन्त्रक जोशीले बताए ।