काठमाडौँ । पियोर इनर्जी लिमिटेडको आइपीओमा आज अन्तिम दिनसम्म २ अर्ब २७ करोड ४२ लाख ६५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । मंगलबार (वैशाख २ गते) साँझसम्म कम्पनीको आइपीओमा १९ लाख ३६ हजार ५३ जनाले २ करोड २७ लाख ४२ हजार ६५० कित्ताको लागि आवेदन दिएको सीडीएसले जनाएको छ।

सर्वसाधारणलाई खुला गरिएको सेयरलाई आधार मान्दा यो आवेदन १९.०२८ गुणा बढी हो ।  पियोर इनर्जीले चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता सेयर बिक्री खुला गरेको हो ।

नबिल इन्भेष्टमेन्ट बैंकिङ बिक्री प्रबन्धक रहेको यस आइपीओमा कम्पनीले यसअघि स्थानीयलाई जारी पुँजी ८० करोड रुपैयाँको २ प्रतिशत अर्थात् १ करोड ६० लाख रुपैयाँ बराबरको १ लाख ६० हजार कित्ता सेयर बिक्री गरिसकेको छ । यस्तै, कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि पनि १ लाख ४४ हजार कित्ता सेयर बिक्री गरिसकेको छ ।