काठमाडौँ । नयाँ वर्ष २०८२ को पहिलो साता नेप्से परिसूचक करिब २ प्रतिशत बढेर बन्द भएको छ। यस साता १.९५ प्रतिशत अर्थात् ५२.०३ अंक बढेर २७२२.७३ विन्दुमा पुगेको छ। गत साता २६७०.७० विन्दुमा बन्द भएको थियो ।
यस साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये ३ कारोबार दिन नेप्से बढेको थियो भने १ कारोबार दिन घटेर बन्द भएको थियो। यस साता सेन्सेटिभ इण्डेक्स १२.१९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.१९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.२७ अंक बढेको छ।
यस साता नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औषतमा ५ अर्ब २७ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ८अर्ब २२ करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ५५.९३ प्रतिशत बढेको हो।
यस साता दैनिक औषत शेयर सङ्ख्या ७९.०६ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार सङ्ख्या ३६.६४ प्रतिशत बढेको छ। यस साता नेप्सेको कुल बजार पुँजीकरण करिब २ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब ३९ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण, यस साता ८६ अर्ब रुपैयाँ बढेर ४५ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ।
यस साता १३ वटा उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। लगानी उपसमूहको परिसूचक सर्वाधिक ७.२० प्रतिशत बढेको छ। गत साता १०९.३७ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ७.८७ अंक बढेर ११७.२४ विन्दुमा बन्द भएको छ।
त्यस्तै, यस साता विकास बैंक उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ भने जलविद्युत उपसमूहको परिसूचक करिब ४ प्रतिशत बढेको छ।अंकका आधारमा यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको छ। गत साता १२,२६३.७१ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ३३१.६४ अंक बढेर १२,५९५.३५ विन्दुमा पुगेको छ।
यस साता नेप्सेमा लुम्बिनी विकास बैंकको १० लाख ५५ हजार ४४०.२४ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको शेयरमूल्य सर्वाधिक ४६.३७ प्रतिशत बढेको छ। गत साता ४०२ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको यस लघुवित्तको शेयरमूल्य, यस साता ५८८ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ।








