काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कुमारी बैंक लिमिटेडले चैत मसान्तसम्म २८ करोड ५८ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ।

बैंकले गत वर्षको सोही अवधिसम्म १ अर्ब ५ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेका थियो। गत वर्षको तेस्रो त्रैमाससम्मको तुलनामा यस वर्ष सोही अवधिसम्म बैंकको खुद नाफा ७२.८५ प्रतिशतले घटेको हो।

यस वर्ष बैंकको इम्पेयरमेन्ट चार्ज रकम गत वर्षभन्दा बढी भएको र सञ्चालन नाफा घटेकाले खुद नाफा समेत प्रभावित भएको हो। गत वर्ष ३ अर्ब ५४ करोडभन्दा बढी रहेको इम्पेयरमेन्ट चार्ज चालू आवमा बढेर ५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ।

साथै, हाल बैंकको चुक्ता पूँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ छ। बैंकको जगेडा कोषमा ५ अर्ब ४५ करोड ऋणात्मक र रिजर्भ कोषमा साढे १५ अर्बभन्दा बढी रुपैयाँ रहेको छ।

त्यस्तै गत वर्ष बैंकको सञ्चालन नाफा २ अर्ब २६ करोड रुपैयाँभन्दा बढी रहेकोमा चालू आवमा घटेर ८५ करोड रुपैयाँमा सीमित भएको छ। बैंकको वितरणयोग्य नाफा गत वर्ष ४ अर्ब २० करोड ऋणात्मक रहेकोमा चालू आवमा साढे ६ अर्ब ऋणात्मक भएको छ।

गत वर्ष बैंकको खराब कर्जा ४.९५ प्रतिशत रहेकोमा चालू आवमा बढेर ६.९८ प्रतिशत पुगेको छ। बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ४५ पैसा र प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ४३ पैसा रहेको बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।