काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अध्ययनबिना डोजर चालकको भरमा सडक निर्माण हुँदा अनेकौँ प्राकृतिक बिपत्तिहरु भइरहेकाे बताएका छन् । बिहीवार राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री ज्वालाले डोजरे विकास प्रवृत्तिको अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए ।

उनले डोजरे विकासका कारण सयौँ बिगाहा खेतीयोग्य भूमि पुरिने र पुल तथा पूर्वाधारमा क्षति हुने गरेको बताए ।

उनले भने, ‘निश्चयपनि सडक निर्माण एक प्राविधिक विषय हो । बिना अध्ययन डोजर चालकको भरमा सडक निर्माण हुँदा अनेकौँ प्राकृतिक विपत्ति हुँदै गइरहेको कुरा सत्य हो । कठिन भू–बनोटबाट सडक निर्माण गर्नुपर्ने, चलायमान पहाडको पाखामा सडक निर्माण गर्नुपर्ने, सडक निर्माणको क्रममा निस्किएका ढुंगा माटोको उचित व्यवस्थापन नहुँदा त्यस्तो डोजरे विकासले सयौँ बिगाहा खेतीयोग्य भुमि पुरिने र बहुमुल्य पुल तथा पूर्वाधारमा क्षति हुने गरेको छ । हामी असारे र डोजरे विकास प्रवृत्ति अन्त्य गर्न प्रतिवद्ध छौँ ।’