काठमाडौं । लगातार ३ दिन दिनसम्म वृद्धिपछि साताको पहिलो कारोबारका दिन आज सेयर बजार सूचक नेप्से घटेको छ । यस दिन नेप्से सूचक १६.५५ विन्दुले घटेर २७०६.१८ अंकमा आएको छ।

आज ३२८ कम्पनीको २ करोड १३ लाख २३ हजार कित्ता शेयर किनबचे हुँदा ८ अर्ब ४३ करोड रुपैयाँको कारोबार भएको छ । भने २ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । १३ मध्ये जम्मा ३ वटा समूहको सूचकमात्र बढेको छ ।

यस दिन सूचकसँगै कारोबार रकम समेत प्रभावित भएको छ । अल्पकालीन कारोबारीले नाफा बुक गर्दा आइतबार बजार सामान्य प्रभावित भएको जानकारहरुको भनाइृ छ । यसअघि लगातार ३ दिनमा बजार ६०.६४ अंकले बढेको थियो । यसरी छोटो समयमा बढेको बजारबाट प्रोफिट बुक गर्नेहरु सक्रिय हुँदा सूचक प्रभावित भएको हो ।

बैंकहरुको तेस्रो त्रैमासको वित्तीय विवरण पनि सार्वजनिक भइसकेको छ । वाणिज्य बैंकहरुले झिनो प्रतिशतले नाफा वृद्धि गर्न सफल भएको देखिन्छ । प्रतिकूल अवस्थामा बैंकहरुले मुनाफा बढाउन कोशिस गरिरहेको अवस्था छ । अन्य समूहका कम्पनीहरुले पनि धमाधम वित्तीय विवरणहरु सार्वजनिक गर्न थालेका छन् ।

यसबाहेक सेयर बजारलाई सबैभन्दा बढी प्रभाव पार्ने भनेको बैंक ब्याजदर नै हो । ब्याजदरका हिसाबले भने सेयर बजारका लागि अहिले सुनौलो अवसर रहेको देखिन्छ । बैंकहरुको ब्याजदर न्यून विन्दुमा छ । कर्जाको ब्याजदर नै एकल अंकमा आएको छ कारण शेयर बजारले पुनः उचाइ लिने जानकारहरुको भनाई छ ।

आज घटेको बजारमा समेत राधी विद्युत कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ। आज कम्पनीको ६८ करोड ७६ लाख ९७ हजार रुपैया बराबरको कारोबार भएको छ । त्यस्तै, दोस्रो स्थानमा रहेको ङादी ग्रुप पावरको ५७ करोड २७ लाख ७८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । यता, बलेफी हाइड्रोपावरको ५६ करोड ६७ लाख ९३ हजार रुपैंया कारोबार भएको छ ।