काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले प्रकाशन गरेको वित्तीय विवरण अनुसार बैंकले समीक्षा अवधिसम्ममा ४३ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकले ६१ प्रतिशत बढी नाफा कमाएको हो । सांग्रिलाले गएको आवको चैत मसान्तसम्म २६ करोड २७ लाख रुपैयाँ नाफा गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी घटे पनि नाफा बढ्नुको कारण नेट फि एन्ड कमिसन, अदर अपरेरिटङ इन्कम र अपरेटिङ इन्कममा सुुधार देखिनु हो ।

बैंकले समीक्षा अवधिमा १ अर्ब ४३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ जुन गत आवको सोही अवधिको भन्दा २ करोड कम हो ।

बैंकले गत आवको तुलनामा चालु आवको समीक्षा अवधिमा १ करोड बढी खुद फि तथा कमिसन इन्कम गरेको छ । त्यस्तै करिब १६ करोड रुपैयाँ अन्य सञ्चालन आम्दानी गरेको छ । गत आवको सोही समीक्षा अवधिमा बैंकको अदर अपरेटिङ इन्कम ७२ लाख रुपैयाँ मात्र थियो ।

चालु आवको त्रैमास अवधिमा सांग्रिलाले नोक्सानी व्यवस्थाका लागि साढे २५ करोड रुपैयाँ छुट्याएको छ । यो प्रोभिजन गत आव सोही अवधिमा गरेकोभन्दा १५ करोड कम हो । सोही कारण बैंकको खुद नाफामा उत्साहकजनक सुधार आएको छ ।

सांग्रिलाले हालसम्म ५४ अर्ब ७९ करोड रुपैयाँ निक्षेप परिचालन गरी ४३ अर्ब ५० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले १ वर्षको अवधिमा निक्षेप ७९ करोड र कर्जा डेढ अर्बले बढेको छ ।

बैंकले प्रवाह गरेको कर्जामध्ये ४.९७ प्रतिशत निष्क्रिय छन् । एनपीएल अनुपात गत आवको चैतमा ३.८४ प्रतिशत थियो ।

बैंकको प्राथमिक पुँजीकोष अनुपात १०.५७ प्रतिशत रहेको छ ।

नाफा बढ्दा सांग्रिलाको वितरणयोग्य नाफा वा सञ्चित मुनाफा २४ करोड ३ लाख पुगेको छ । यो रकमबाट बैंकले ९।०१ प्रतिशत लाभांश दिने क्षमता राख्दछ ।

बैंकको प्रति शेयर आम्दानी १६.२८ रुपैयाँ कायम भएको छ । गत आवको यही समीक्षा अवधिमा बैंकको ईपीएस १०.४७ रुपैयाँ थियो । बैंकको नेटवर्थ १५२.५६ रुपैयाँ थियो ।