काठमाडाैं । लक्ष्मी बैंक र सनराइज बैंकले आज (असार २९ गते)बाट एकीकृत कारोबार सुरु गरेका छन् । मर्जर प्रक्रिया पूरा गरी लक्ष्मी बैंक र सनराइज बैंकले आजबाट लक्ष्मी सनराइज बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरेका हुन् ।

गत जेठ ८ गते लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर सम्बन्धमा अन्तिम सम्झौता सम्पन्न भएको थियो ।

सम्झैताअनुसार ड्यु डिलिजेन्स अडिटरको प्रतिवेदनका आधारमा दुवै बैंक १ः१ को स्वाप रेसियोमा मर्ज भएका हुन् । लक्ष्मी बैंकका हालका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह मर्जरपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत रहनेछन् । गाभिएपछि बन्ने बैंकको सञ्चालक समितिको प्रथम बैठकले सञ्चालक समितिको अध्यक्षको चयन गर्नेछ ।

दुवै बैंकको गत असार ३ गते सम्पन्न साधारणसभाबाट मर्जर प्रक्रिया स्वीकृत भएको थियो ।

मर्जरपश्चात् लक्ष्मी बैंकबाट ४ जना र सनराइज बैंकबाट ३ जना गरी ७ सदस्यीय सञ्चालक समिति बन्नेछ । लक्ष्मी बैंकका हालका अध्यक्ष रमण नेपाल एकीकृत कारोबारपश्चात् लक्ष्मी सनराइज बैंकको अध्यक्ष चयन हुने छन् । यस्तै, सञ्चालकहरु डा.मनीष थापा, स्वाती रुङ्गटा र विद्या बस्नेत सञ्चालक बन्ने छन् । यस्तै, सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडसहित इन्जिनियर बच्छराज तातेड र मालचन्द दुगड सञ्चालक बन्ने छन् ।

मर्जरपश्चात् बैंकको चुुक्ता पूँजी २१ अर्ब ६७ करोड रुपैयाँभन्दा बढी पुग्नेछ । हाल लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड १३ लाख रुपैयाँ र सनराइज बैंकको १० अर्ब ११ करोड ८८ लाख रुपैयाँ रहेको छ । यस्तै, बैंकको जगेडा कोष १४ अर्ब ११ करोड रुपैयाँ पुग्नेछ ।

मर्जरपछि लक्ष्मी सनराइज बैंकको निक्षेप २ खर्ब ८७ अर्ब रुपैयाँ र कर्जा प्रवाह २ खर्ब ५९ अर्ब रुपैयाँ पुग्नेछ ।