काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लगानीकर्ताले आज कार्यालय समयभित्र ऋणपत्रका लागि आवेदन दिने सक्नेछन् । यसअघि ऋणपत्र आवेदन दिने समय वैशाख २१ गतेसम्म थप भएपनि मागभन्दा बढी आवेदन परेकाले आजैबाट ऋणपत्रको बिक्री बन्द हुने कम्पनीले जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले वैशाख ७ गतेदेखि २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले २५ लाख इकाई ऋणपत्र बिक्री खुला गरेको हो । जसमध्ये १५ लाख इकाई बैंकले आफ्नै पहलमा प्राइभेट प्लेसमेन्ट गर्नेछ ।

बैंकले ७ वर्ष अवधि भएको ७ आरबीबीएल डिबेन्चर २०८८ बिक्रीमा ल्याएको हो । उक्त डिबेन्चरको वार्षिक ब्याजदर ७ प्रतिशत तोकिएको छ ।

बाँकी १० लाख इकाईमध्ये ५ प्रतिशत अर्थात ५० हजार इकाई म्युचुअल फन्डलाई छुट्याइएको छ । ९ लाख ५० हजार इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । सानिमा क्यापिटल यस डिबेन्चरको बिक्री प्रबन्धक रहेको छ ।

लगानीकर्ताले न्यूनतम २५ इकाईदेखि अधिकतम निष्काशित सबै इकाईका लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ । सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिन्छ । केयर रेटिङ्स नेपालले बैंकलाई केयर एनपी ए प्लस इस्यूअर रेटङ प्रदान गरेको छ । यसले बैंकको समयमा वित्तीय दायित्व पूरा गर्ने क्षमता तुलनात्मक रूपमा पर्याप्त रहेको र न्यूनतम कर्जा जोखिम भएको संकेत गर्दछ ।