काठमाडाैं । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले आज असार २९ गतेदेखि आफ्ना सेयरधनीहरुका लागि हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले चुक्तापुँजीको १०ः५ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद बिक्री खुला गरेको हो ।
जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय तथा सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन पाउनेछन् ।
यसैगरी मुक्तिनाथ क्यापिटल तथा मुक्तिनाथ विकास बैंकको इटहरी, पोखरा नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगञ्ज, धनगढी, विराटनगर, जनकपुर र लमजुङ शाख कार्यालयबाट पनि खरिद आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
हकप्रद निष्कासन प्रयोजनार्थ कम्पनीले गत असार १ गते बुक क्लोज गरिसकेको छ । यसको अर्थ जेठ ३२ गतेसम्म कायम लगानीकर्ताले यो हकप्रदमा आवेदन दिन पाउनेछन् ।
यो हकप्रदको निष्कासन बन्द साउन १८ गते बैंकिङ समयपछि हुनेछ । हकप्रद बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।