काठमाडौँ । शिक्षा ऐन जारी गर्न मागसहित शिक्षकहरू २४ दिनदेखि सडक आन्दोलनमा छन् । पठनपाठन ठप्पपारेर राजधानी केन्द्रित आन्दोलनमा होमिएका शिक्षकहरूलाई गुल्मीको कालिगण्डकी गाउँपालिकाले भने विद्यालय फर्केर पठनपाठनमा संलग्न हुन निर्देशन दिएको छ।
गाउँपालिका अध्यक्ष वेदबहादुर थापाले विज्ञप्ति जारी गरी शिक्षक र विद्यालय कर्मचारीलाई वैशाख १४ गतेदेखि अनिवार्य विद्यालयमा उपस्थित हुन निर्देशन दिएका हुन्।
उनले उपस्थित हुन नसक्ने शिक्षक तथा कर्मचारीलाई राजीनामा दिन वा सरुवा हुने प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन् ।
शिक्षकहरू शिक्षक महासंघको आह्वानमा आन्दोलनमा होमिएका छन्। आज मात्रै नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले शिक्षकलाई वार्ताका लागि बोलाएका थिए। तर सिंहदरबार गेटमा पुगेका शिक्षकलाई प्रवेश पास नदिएपछि आजको वार्ता भाँडिएको थियो ।