काठमाडौं । सवारीचालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को अवधि अबदेखि १० वर्षको हुने भएको छ ।
सवारी लाइसेन्सको अवधि १० वर्ष हुने गरी प्रतिनिधि सभाले केही नेपाल ऐन संशोधन विधेयक पारित गरेको हो ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा लाइसेन्सको अवधि पाँच वर्ष तोकिएको थियो । त्यसलाई बदलेर केही नेपाल ऐन संशोधन विधेयकमार्फत १० वर्ष बनाइएको हो ।
प्रचलित ऐनको दफा ५४ मा चालक अनुमतिपत्रको वैधतासम्बन्धी व्यवस्था छ । दफा ५४ को उपदफा ३ मा भनिएको छ, ‘चालक अनुमतिपत्र दिइएको मितिले पाँच वर्षसम्म बहाल रहनेछ ।’
प्रचलित व्यवस्थामा संशोधन गर्दै विधेयकमा भनिएको छ, ‘ दफा ५४ को उपदफा ३ मा रहेका ‘पाँच वर्षसम्म’ भन्ने शब्दहरूको सट्टा ‘दश वर्षसम्म’ भन्ने शब्दहरू राखिएका छन् ।’
यो प्रस्तावसहितको विधेयक प्रतिनिधि सभाबाट पारित भएको हो । पारित विधेयक अनुसार नविकरण गर्दा पनि दश वर्षका लागि निवकरण हुनेछ ।
यो विधेयक अघिल्लो सरकारको पालामा तत्कालीन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ल्याएका थिए ।
यो विधेयक २०८० वैशाख २६ मा प्रतिनिधिसभामा दर्ता भएको थियो । दफाबार छलफलका लागि प्रतिनिधि सभाले विषयगत समितिमा २०८० भदौ २९ मा पठाइएको थियो । समितिबाट पास भएर सभामा २०८१ वैशाख १४ मा पुगेको थियो । मंगलबार प्रतिनिधि सभाले पारित गरेको हो ।
अब यो विधेयक राष्ट्रिय सभामा जान्छ । राष्ट्रिय सभाले पारित गरेपछि पुनः प्रतिनिधि सभामा आउँछ । सभामुख हुँदै राष्ट्रपतिकहाँ पुग्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनको रुपमा लागू हुनेछ ।