काठमाडौँ । नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको लगानी रहेको नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीको बिहीबार उद्घाटन गरिएको छ । उद्घाटन समारोहमा बोल्दै नेपाल लाइफ इन्सुरेन्सका सीइओ प्रवीण रमण पराजुलीले जीवन बीमाको क्षेत्रमा नेपाल नयाँ लगानीको लागि प्रस्थान बिन्दु भएको बताए । प्रस्तुत त सीइओ प्रवीण रमण पराजुलीको सम्बोधनको सम्पादित अंश :

नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी ५ अर्ब रुपैयाँको आधिकारिक पूँजी र १ अर्ब ८० करोड रुपैयाँको चुक्ता पूँजी रहेको पब्लिक कम्पनीको रूपमा स्थापित भएको छ । एक्स्पोनेन्सियल ग्रोथ लिएर अगाडि बढिरहेको छ । तेस्रो दशकको मध्यतिर छौं । आजको दिनसम्म आइपुग्दा यो कम्पनी बीमा क्षेत्रका सम्पूर्ण सरोकारवालाहरूको अपेक्षा पूरा गर्ने कम्पनी बनेर निस्किएको छ ।

बीमितहरूको तर्फबाट हेर्ने हो भने कम्पनीले उचित बोनस दर प्रदान गरिरहेको छ । शेयरधनीको नजरबाट हेर्दा कम्पनीले डिभिडेन्टमा राम्रो प्रतिफल दिइरहेको छ । नियामक निकायको तर्फबाट हेर्दा नेपाल लाइफ एउटा अब्बल संस्था हो । बजारलाई मात्र नहेरेर अन्य सूचकलाई पनि मध्यनजर गर्ने हो भने नेपाल लाइफ नेपाली बीमा क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहेको छ ।

यस्तै अभिकर्ताले पनि ब्रान्डको अपनत्व लिएर विश्वास गरेको अवस्था छ । यसलाई कम्पनीलाई सबल बनाउँदै लगेको छ र व्यवसायमा पनि वृद्धि भइराखेको छ ।

यस्तै हामीसँग दूरदर्शी कर्मचारीको टिम छ । विभिन्न चुनौतीलाई आत्मसात गरेर अघि बढिरहेको सीपले युक्त कर्मचारीको टिम छ । यस्तो कर्मचारीको टिम सायदै अन्य बीमा कम्पनीमा छन् । दक्ष र सीपले भरिपूर्ण कर्मचारीका कारण पनि हामी नेपालकै उत्कृष्ट बीमा कम्पनीका रूपमा उभिन पाएका छौं ।

स्थापनाको २५ वर्ष पार गरिसक्दा हामीले विभिन्न चुनौती भोग्यौ । हामीले त्यो चुनौतीलाई अवसरमा बदल्यौं । जसले हाम्रो समग्र वृद्धि र विकासमा सहयोग गरिरह्यो । हामी गतिशील भएर अघि बढ्यौं ।

हामी बजारको पछाडि दौडनेभन्दा पनि बजारको सृजना कसरी गर्ने र त्यसलाई कुन दिशामा हाँक्ने भन्ने कुरामा कटिबद्ध रह्यौं । हाम्रो सञ्चालक समितिले निरन्तर एक खालको दृष्टि प्रदान गरिरह्यो । अनि हामी कर्मचारीले पनि उच्च मनोबल लिएर उक्त दृष्टिलाई अपनायौं । अनि अभिकर्ताहरूले हामीलाई ग्रास रुटसम्म पुग्न सहयोग गर्नुभयो । सबैको योगदान निकै नै महत्त्वपूर्ण रहेको छ ।

बीमा क्षेत्रमा छाप छोड्न सफल भइरहँदा अब के त भन्ने प्रश्न सुरु भएको छ । कोभिड महामारीले पनि नयाँ चुनौती लिएर आयो । हरेक चुनौतीले अवसर पनि प्रदान गरिरहेको हुन्छ । पछिल्लो साढे दुई वर्षदेखि हामी एसेट्स एक्विजिसनमा केन्द्रित भएका छौं । पोखरा, इटहरी र हेटौंडामा जमिन खरिद गरिसकेका छौं । विराटनगरमा खरिद गर्ने प्रक्रियामा छौं । यो आर्थिक वर्षको अन्तिमसम्ममा देशका विभिन्न ६ स्थानमा हाम्रो उपस्थिति रहिसकेको हुनेछ ।

हामीले नेपाल लाइफ क्यापिटल सुरु गर्‍यौं । लाइसेन्सिङको प्रक्रिया र धितोपत्र बोर्डको नेतृत्वका कारण नीतिगत कुरामा ढिलाइ हुन पुग्यो । तर अहिले हामी रफ्तारमा अघि बढिसकेका छौं ।

सिटी सेन्टरमा व्यापारिक प्रयोजनका लागि लगानी गरेका थियौं । यो एसेट्सको मूल्यांकन र भ्याल्यु क्रिएसनलाई हेर्ने हो भने माथिल्लो तहमा पुगिसकेको छ । बीमा प्राधिकरणले फराकिलो कानुन ल्याएको छ । यसले नयाँ लगानीको अवसरलाई खुला गरेको छ । सोही अनुरूप हामी पनि फराकिलो हुन जरुरी भएको छ । लगानीलाई कसरी विविधीकरण गर्ने भन्ने कुरामा हामी केन्द्रित छौं । स्पेसल परपोज भेकलका रूपमा हामी अघि बढिरहेका छौं ।

हामीले आफ्नो दायरालाई पनि बढाउँदै जाने भनेर इन्भेष्टमेन्ट सुरु गरेका हौं । २५ वर्षको अनुभव लिएर यस क्षेत्रमा होमिएका छौं । लगानी चुनौतीले भरिएको हुन्छ । त्यसलाई मोनिटर, फलोअप र सही समयमा विविधीकरण गर्न जरुरी हुन्छ । त्यसका लागि उचित मानव संसाधनको आवश्यकता पर्छ । त्यही सोचका साथ एउटा संस्थाको परिकल्पना गरेका थियौं र यो संस्थाको जन्म भएको छ । संस्थाको अवधारणा मात्र ल्याएर पनि पुग्दैनथ्यो । अवधारणालाई मूर्त रूप प्रदान गर्ने भूमिका बीमा प्राधिकरणले खेलेको छ ।

हामीले सम्बन्धन प्राप्त गर्दै गर्दाको अनुभव सुनाउँछु । सुशील देव भट्टजीलाई लाइसेन्सको लागि अनुमति माग्दै गर्दा उहाँले कत्रो संस्था हो भनेर सोध्नुभएको थियो । पाँच अर्बको संस्था हो, अहिले १ अर्ब ८० करोड रुपैयाँ चाहिँ पेड अफ क्यापिटल हो सर भनेर भनेको थिएँ । त्यो बेला उहाँ अलि झस्किनुभएको थियो । त्यस बेला आफूहरूले नै बल्ल जीवन बीमाको क्यापिटल साढे २ अर्बबाट बढाएर ५ अर्ब बनाउन लागेको भनी जानकारी गराउनुभएको थियो । हामी एक्लैले ५ अर्बको लगानी कम्पनीको लागि अनुमति माग्दा उहाँ छक्क पर्नुभएको थियो । अनि उहाँले केही समय दिनुस्, नीतिगत व्यवस्था छन्, लाइसेन्स दिन्छु भन्नुभयो । बीमा प्राधिकरणले अपनत्व लिएका कारण पनि अहिले हामी यहाँसम्म आइपुगेका छौं ।

यो क्षण एउटा कोशेढुंगाको रूपमा रहेका छ । यहाँबाट हामी कसरी अगाडि जान्छौं भन्ने कुरालाई संस्थाको विविधीकरणलाई पनि निर्धारण गरिराखेको हुन्छ । हाम्रो व्यवसायमा भ्याल्यु क्रिऐसन कसरी गर्न सकिन्छ भन्ने कुरा पनि देखाउँछ । चुनौती धेरै छन् । लगानी ४ देखि ५ प्रतिशत पुग्न पनि गाह्रो छ । सरोकारवालाहरूको आशा पूरा गर्नुपर्ने चुनौती छ । आर्थिक रूपमा स्थायित्व प्राप्ति गर्नुपर्ने छ । लगानीबाट रिटर्न कसरी दिने भन्ने कुरा पनि छ ।

लगानीलाई लिएर हामी सबै गम्भीर छौं । यो हाम्रो लागि मात्र उपलब्धि होइन । समग्र बीमा क्षेत्रकै उपलब्धि हो । बीमालाई नयाँ ढंगले लैजाने बेला आएको छ भन्ने मलाई लागेको छ । संस्थाप्रतिको यहाँहरूले दिनुभएको माया र ममता उस्तै रहनेछ भन्ने आशा गरेको छु । नेपाल लाइफ इन्सुरेन्स, इन्भेष्टमेन्ट र क्यापिटलका सेवा र प्रोडक्टको प्रयोग गरिदिनुहोला । कम्पनीलाई मेरो आफ्नो हो भन्ने ठानेर माया गरिराख्नुहोला । सेवालाई परिष्कृत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्दछु ।