काठमाडौं । वाणिज्य बैंकहरुले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरूले साउन १ गतेबाट लागू हुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।

साउन महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार अधिकांश बैंकले ब्याजदर घटाएका छन् । त्यस्तै नबिल बैंक र प्राइम बैंकले भने ब्याजदर बढाउने निर्णय गरेका छन् ।

यसअघि लामो समयदेखि बैंकहरुबीच समझदारी अनुसार ब्याजदर निर्धारण गर्दै आएका थिए । साउनमा भने आफूखुशी ब्याजदर निर्धारण गरेका हुन् ।

राष्ट्रिय वाणिज्य बैंकले यसअघि दिँदै आएको ब्याजदरमा केही घटाउँदै साउन १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले ३ महिनादेखि ५ वर्षसम्मको साधारण र विशेष व्यक्तिगत मुद्दती निक्षेपमा ८.९९ प्रतिशत ब्याजदर दिने भएकाे छ । त्यस्तै ६ महिनादेखि ५ वर्षसम्मको साधारण र विशेष मुद्दती निक्षेपमा ६.९९ प्रतिशत ब्याज दिने बैंकले जनाएको छ ।

बैंकले ३ महिनादेखि ३ वर्षसम्मको राष्ट्रिय वाणिज्य बैंक रेमिट्यान्य मुद्दती निक्षेपमा ९.९९ प्रतिशत र ३ महिनादेखि २ वर्षसम्मको राष्ट्रिय वाणिज्य बैंक मुद्दती निक्षेप (राष्ट्रिय गौरब आयोजना प्रभावितहरुका लागि मात्र)का लागि ८.९९ प्रतिशत ब्याजदर तोकेको छ ।

बैंकले सामान्य बचत खातामा ४.८६ प्रतिशत ब्याजदर तोकेको छ भने अन्य बचत निक्षेपमा ६.६६ प्रतिशत ब्याजदर तोकेको छ ।

त्यस्तै एनएमबी बैंकले १० वर्ष र त्योभन्दा माथिको मुद्दति निक्षेपमा १०.९८ प्रतिशत ब्याजदर दिने भएको छ । यस अघि यसअघि ९.९९ प्रतिशत ब्याजदर रहेको थियो। बैंकले ३ देखि ६ महिनाको व्यक्तिगत मुद्दति निक्षेपमा ब्याज ९ प्रतिशत ब्याजदर दिने भएको छ । जुन यस अघिको ब्याजदर भन्दा कम हो। त्यस्तै ६ देखि ९ महिनाकोमा ९.१ र ९ महिनादेखि १ वर्षसम्मको मुद्दति निक्षेपमा ९.२५ प्रतिशत पुर्याएको छ ।

बैंकले रेमिट्यान्ससम्बन्धी एनएमबी जन्मभूमि बचत खातामा बैंकले ८.९८ प्रतिशत ब्याज दिने भएको छ । त्यसैगरी १ देखि २ वर्षको ९.५ प्रतिशत र २ देखि १० वर्षको मुद्दति निक्षेपमा ९.७५ प्रतिशत ब्याज प्रदान गरिने जानकारी दिएको छ । बैंकले साधारण बचतका विभिन्न खातामा ५.९८ देखि ७.९७ प्रतिशत ब्याज तोकिएको छ ।

हिमालयन बैंकले १ वर्षमुनिको मुद्दित निक्षेपमा मात्र ब्याजदर घटाएको छ । बैंकले १ वर्षदेखि ५ वर्षसम्मको मुद्दति निक्षेपमा भने ९.९९ प्रतिशत ब्याजदर कायम राखेको छ ।

बैंकले ३ महिनासम्मको मुद्दति निक्षेपमा ८.९९, ६ महिनासम्मकोमा ९.४९ र ९ महिनासम्मको मुद्दति निक्षेपमा ९‍.७४ प्रतिशत दिने भएकाे छ ।

साधारण बचतमा भने बैंकले ५.४ देखि ७.४ प्रतिशतसम्म ब्याज तोकेको छ । असारका लागि बैंकको कर्जाको आधार दर १०.९४ प्रतिशत तोकेको छ । बैंकले राष्ट्रिय वाणिज्य बैंक रेमिट्यान्स बचत खातामा ७.६६ प्रतिशत ब्याज दिने भएको छ ।

त्यस्तै माछापुच्छ्रे बैंकले ब्याजदरमा १० प्रतिशतभन्दा बढिले घटाएर नयाँ ब्याजदर सार्वजनिक गरेको हो । अब बैंकमा सबै प्रकार व्यक्तिगत मुद्दती निक्षेपमा निक्षेपकर्ताले ९ प्रतिशत मात्रै ब्याज पाउनेछन् । त्यस्तै, संस्थागत मुद्दती निक्षेपमा निक्षेपकर्ताले ७ प्रतिशत ब्याज पाउने भएका छन् । रेमिट्यान्स मुद्दती निक्षेपमा निक्षेपकर्ताले भने १० प्रतिशत ब्याज पाउनेछन् ।

बचततर्फ सबैभन्दा बढि रेमिट्यान्स बचत खाता र एमबिल कर्मसिल बचत खातामा सबैभन्दा धेरै अर्थात ७.८५ प्रतिशत ब्याज पाउने बैंकले जनाएको छ ।

त्यस्तै बैंकले एमस्मार्ट बचत खाता र मेरो लगानी बचत खातामा बचतकर्ताले ६.८५ प्रतिशत र अरु सबै प्रकारको खातामा बचतकर्ताले ४.८५ प्रतिशत ब्याज दिने भएकाे छ ।

बैंकले कर्जामा अधिकतम आधारदरमा ३ प्रतिशत प्रमियम लिने जनाएको छ ।

बैंकले फिक्स ब्याजदरको कर्जा योजना पनि सार्वजनिक गरेको छ । जस अनुसार पाँच वर्षसम्मको घरकर्जामा १२ प्रतिशत, ५ देखि १० वर्षसम्मको घर कर्जामा १३ प्रतिशत र १० वर्षभन्दा माथिको घर कर्जामा १४ प्रतिशत ब्याज लिने भएकाे छ ।

त्यस्तै, अटो लोनमा ५ वर्षसम्मका लागि १२ प्रतिशत र ५ देखि १० सम्मका लागि १३ प्रतिशत ब्याज लिने बैंकले जनाएको छ । अन्य खुद्रा कर्जाका हकमा भने ५ वर्षसम्मका लागि १२.५० प्रतिशत, १० वर्षसम्मका लागि १३.५० र १० वर्षभन्दा माथिका लागि १४ प्रतिशत ब्याज लिने भएकाे छ ।

ग्लोबल आइएमई बैंकले एक वर्षभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपमा ९.९९ प्रतिशत दिने भएकाे छ । त्यस्तै रेमिट्यान्स मुद्दती निक्षेपमा ११.९९ प्रतिशत ब्याजदर दिने भएको छ ।

बैंकले ३ देखि ६ महिनासम्मको व्यक्तिगत निक्षेपमा ९ प्रतिशत र ६ महिनादेखि १ वर्षसम्मको व्यक्तिगत निक्षेपमा ९.५० प्रतिश ब्याजदर दिने भएकाे छ ।

बैंकले एक वर्षभन्दा माथिको मुद्दती निक्षेप र रेमिट्यान्स मुद्दती निक्षेपमा पुरानै ब्याजदरलाई निरन्तरता दिएको छ भने एक वर्षभन्दा कम मुद्दती निक्षेपमा ब्याजदर घटाएको छ ।

बैंकले बचततर्फ ग्लोबल रेमिट्यस सेभिङ एकाउन्टमा सबैभन्दा बढी अर्थात् ९ प्रतिशत, सोचेजस्तै बैंक खाता र सबै नेपाली बैंक खाता नामक बचतमा ७ प्रतिशत र ग्लोबल जेष्ठ नागरिक बचत खातामा ६ प्रतिशत ब्याजदर दिने जनाएको छ ।

त्यस्तै प्रभु बैंकले विभिन्न खातामा साउन १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४.५० प्रतिशतदेखि अधिकतम ७.५० प्रतिशत ब्याजदर तोक्नेछ । यसअघि बैंकले साधारण बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ८.४० प्रतिशत ब्याजदर तोकेको थियो ।

यस्तै, बैंकले मुद्दति निक्षेपमा संस्थागत तर्फ ७.२५ प्रतिशत र ब्यक्तिगततर्फ ९.५० प्रतिशतसम्म ब्याजदर निर्धार गरेको छ । बैंकले रेमिट्यान्स बचत खातामा १०.५० प्रतिशत ब्याजदर तोकेको छ ।

बैंकले कर्जाको ब्याजदरमा भने बेसरेटमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम लिने भएको छ ।

त्यस्तै नबिल बैंकले साउन महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । साथै, बैंकको रेमिट्यान्स खातामा भने ८.४० प्रतिशत ब्याजदर प्रदान गर्नेछ ।

यस्तै, बैंकले मुद्दति निक्षेपमा संस्थागत तर्फ ७.९९ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । बैंकले रेमिट्यान्स बचत खातामा १०.९९ प्रतिशत ब्याजदर तोकेको छ ।

त्यस्तै प्राइम कमर्सियल बैंकले साउनमा ब्याजदर बढाउने भएको छ । बैंकले साउन महिनाका लागि सार्वजनिक गरेको ब्याजदरअनुसार साधारण बचत खातामा न्यूनतम ५.९३ प्रतिशतदेखि अधिकतम ७.९३ प्रतिशत ब्याजदर तोक्नेछ । साथै, बैंकले साउनमा रेमिट्यान्स खातामा भने ९ प्रतिशत ब्याजदर निर्धारण गर्नेछ । असारमा बैंकले सोही बचतमा न्यूनतम ५.४० प्रतिशतदेखि ७.४० प्रतिशत र रेमिट्यान्समा ८.४० प्रतिशत ब्याज प्रदान गरेको थियो ।

यस्तै, बैंकले मुद्दति निक्षेपमा पनि ब्याजदर बढाएको छ । बैंकले संस्थागत तर्फ ८.९३ प्रतिशत ब्याजदर तोक्नेछ । यस्तै, ब्यक्तिगततर्फ ३ महिनासम्मको लागि १०.९३ प्रतिशत र रेमिट्यान्स खातामा १२.५० प्रतिशत ब्याजदर तोक्ने बैंकले जनाएको छ । यसअघि असारमा संस्थागततर्फ ७.९९ र ब्यक्तिगततर्फ ९.९९ प्रतिशत थियो ।

बैंकले कर्जाको ब्याजदरमा भने बेसरेटमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोक्नेछ । बैंकले आधार दरमा प्रिमियम जोडेर कर्जाको ब्याजदर कायम गरिने जनाएको छ । बैंकको आधार दर १०.८४ प्रतिशत रहेको छ ।

त्यस्तै, कुमारी बैंकले बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशत ब्याजदर र मुद्दति निक्षेपमा संस्थागत तर्फ ७.५१ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशतसम्म ब्याजदर तोक्नेछ ।

एभरेष्ट बैंकले साउन १ गतेबाट लागु हुने गरि सार्वजनिक गरेकाे ब्याजदर अनुसार विगतमा भएको ब्याजदरमा केही घटाएकाे छ ।

बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ एक वर्षभन्दा कम समयका लागि ९ प्रतिशत ब्याज, एक वर्षका लागि ९.५० प्रतिशत र एक वर्षभन्दा धेरै समयका लागि ९ प्रतिशत ब्याज दिने भएको छ । त्यस्तैं, संस्थागत मुद्दती निक्षेपमा ६ महिना र त्यसभन्दा माथिका लागि बैंकले ७.५० प्रतिशत ब्याज दिने भएको छ ।

नयाँ ब्याजदरअनुसार बैंकले बचततर्फ सबैभन्दा बढि रेमिट्यान्स प्लस बचत खातामा ७.७५ प्रतिशत ब्याज दिने भएको छ । त्यस्तै, सेभिङ प्रिमियम, एभरेष्ट स्पेसल सेभिङ, एभरेष्ट म्याक्सी सेभिङ, स्टाफ सेभिङ इबिएल, पेरोल सेभिङ, कर्पोरेट स्यालरी र सेभिङ स्यालरीमा ६.७५ प्रतिशत ब्याज दिने बैंकले जनाएको छ । त्यसैगरि बैंकले अन्य बचतखातामा न्युनतम ४.७५ देखि अधिकतम ६.२५ प्रतिशतसम्म ब्याज दिने बैंकले जनाएको छ ।

साथै, बैंकले कर्जातर्फ फिक्स्ड ब्याजदरमा करिब दुई दर्जन योजनाहरु सार्वजनिक गरेको छ । जसमा न्युनतम १२.५० प्रतिशतदेखि अधितमक १४.५० प्रतिशतसम्म ब्याज लिने बैंकले जनाएको छ ।

त्यस्तै, बैंकले विभिन्न प्रकारका कर्जामा आधारमा दरमा ४.५० प्रतिशत ब्याज प्रिमियम लिने जनाएको छ । असारमा बैंकको आधारदर १०.०६ रहेको छ ।

त्यस्तै साउन १ गतेबाट लागु हुने गरि सार्वजनिक गरेकाे ब्याजदर अनुसार नेपाल बैंकले बचत खातामा न्यूनतम ४.८६ प्रतिशतदेखि अधिकतम ७.६६ प्रतिशत ब्याजदर र मुद्दति निक्षेपमा संस्थागत तर्फ ६.९९ प्रतिशत र ब्यक्तिगततर्फ ८.९९क प्रतिशतसम्म ब्याजदर तोक्ने भएकाे छ ।

सिद्धार्थ बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत तर्फ अधिकतम ९.५ प्रतिशत र संस्थागततर्फ ७.५ प्रतिशत ब्याजजदर कायम गरेको छ ।

बैंकले निक्षेपतर्फ अधिकतम १३.५० प्रतिशत र न्युनतम १०.९९ प्रतिशत ब्याजदर कायम गरेको छ ।

सार्वजनिक ब्याजदर अनुसार स्ट्याण्डर्ड चार्टर्ड बैंकले साधारण बचत खातामा न्यूनतम ४.८५ प्रतिशतदेखि अधिकतम ६.४५ प्रतिशतसम्म ब्याजदर तोक्नेछ । साथै, बैंकले साउनमा रेमिट्यान्स खातामा भने ७.४५ प्रतिशत ब्याजदर निर्धारण गर्नेछ । बैंकले संस्थागततर्फ न्यूनतम ५.९५ प्रतिशतदेखि ६.९५ प्रतिशतसम्म ब्याजदर तोक्नेछ । यस्तै, ब्यक्तिगततर्फ ७.९५ प्रतिशतदेखि ८.९५ प्रतिशत ब्याजदर तोक्नेछ । रेमिट्यान्स खातामा ९.९५ प्रतिशत ब्याजदर तोक्ने भएकाे छ ।