काठमाडौँ । नेपाल टेलिकम (एनटीसी) ले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा कम्पनीको कुल सञ्चालन आय रु. २५ अर्व ३१ करोड ७६ लाख १३ हजार रहेको। उक्त रकम गत आ.व. को सोही अवधिको कुल सञ्चालन आय रु. २५ अर्व ४८ करोड १२ लाख ८९ हजारको तुलनामा रु. १६ करोड ३६ लाख ७५ हजारको (अर्थात् ०.६४ प्रतिशत) ले कमी भएको हो।

यस्तै, तेस्रो त्रैमाससम्म कम्पनीको कुल आय रु. २८ अर्व ४३ करोड १५ लाख ६६ हजार रहेको छ । उक्त रकम गत आ.व. को सोहि अवधिको कुल आय रु. ३१ अर्व २० करोड ४८ लाख ५८ हजारको तुलनामा रु. २ अर्ब ७७ करोड ३२ लाख ९१ हजार (अर्थात् ८.८९ प्रतिशत) ले कमी हो ।

यस अवधिसम्म कम्पनीको Earnings Before Interest, Taxes, Depreciation and  Amortization (EBITDA) रु. १४ अर्व १९ करोड २१ लाख ९२ हजार रहेको छ। उक्त रकम गत आ.व. को सोहि अवधिको कर अघिको मुनाफा रु. १३ अर्व ४० करोड २९ लाख ४५ हजारको तुलनामा रु. ७८ करोड ९२ लाख ४६ हजार (अर्थात् ५.८९ प्रतिशत) ले बढी हो ।

समिक्षा अवधिमा कम्पनीको खुद मुनाफा रु. २ अर्व ८४ करोड २२ लाख ८९ हजार रहेको। उक्त रकम गत आ.व. को सोहि अवधिको खुद मुनाफा रु. ५ अर्व ५३ करोड ७५ लाख ६२ हजारको तुलनामा रु. २ अर्ब ६९ करोड ५२ लाख ७३ हजार (अर्थात् ४८.६७ प्रतिशत) ले कमी हो ।

यस अवधिमा कम्पनीको रिजर्भको आकार ७२ अर्ब ७० करोड रुपैयाँ बराबर रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति ४४ अर्ब १८ करोड रुपैयाँ र कुल चालु दायित्व २१ अर्ब ६२ करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) २१.०५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ५०३.९३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ६७६.३६ रुपैयाँ, तरलता २.०४ प्रतिशत र पीई अनुपात ४२.७४ गुणा कायम भएको छ ।

ओटीटी सेवाले कम्पनीको एसएमएस र भ्वाइस कलमा प्रभाव पारेकाले गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा राजश्व तथा खुद मुनाफा घट्न पुगेको टेलिकमले जनाएको छ । ओटीटी सेवाहरूको व्यापक प्रयोगका कारण विदेशबाट हुने आगमन कलको परिमाणमा असर परेका कारण यस आवमा अन्तरआवद्धता आय ५३ करोड ५५ लाख ६६ हजार रुपैयाँले कम भएको हो । गत आवको तुलनमा यो २२.३७ प्रतिशतले कम हो ।

यस्तै कम्पनीले गत वर्ष जीएसएम अनुमति पत्र नवीकरणको लागि २० अर्ब रुपैयाँ एकमुष्ठ भुक्तानी गर्नुपरेको र सञ्चालक समितिको निर्णय बमोजिम कर्मचारीहरूको निवृत्तिभरणको व्यवस्थाको लागि गत वर्ष ४ अर्ब ९७ करोड रुपैयाँ छुट्टयाए पश्चात लगानीमा भएको कमी तथा ब्याज दर क्रमिक रूपमा घट्नुको कारणले व्याज आयमा करिब २ अर्ब ३८ करोड ९७ लाख ९६ हजार रुपैयाँले कमी आएको कम्पनीले जनाएको छ । कम्पनीले कर्मचारीको निवृत्तिभरणका लागि यस आवको तेस्रो त्रैमाससम्म १३ अर्ब १५ करोड रुपैयाँ छुट्याएको जनाएको छ ।

उता प्रतिस्पर्धी इन्टरनेट सेवा प्रदायकहरूले मोबिलिटीबाट वाइफाइ सेवा दिइरहेका कारण मोबाइल डेटाको प्रयोगकर्तामा पनि उल्लेखनीय कमी आएको कम्पनीको दाबी छ ।

विकट तथा दुर्गम स्थानमा सेवा विस्तार गर्दा लागत बढी पर्न जाने तर प्रतिफल कम हुने हुँदा पनि कम्पनीको राजस्वमा कमी आएको उसले जनाएको छ ।

त्यसबाहेक सेवाको दररेट निर्धारण सम्बन्धी नीति तथा नियमहरू परिवर्तन भएको कारणले सेवाको दररेटमा कटौती भई राजश्वमा प्रतिकूल असर परेको टेलिकमको भनाइ छ ।

कम्पनीले नेपाल लेखामान १९ अनुसारको योगदानमा आधारित पेन्सन योजनाको खर्च लेखांकन तथा यस आवमा १३ अर्ब १५ करोड रुपैयाँ डिफाइन्ड बेनिफिट एसेट्समा थप रकम छुट्टाइएको लगायतका कारणबाट सिर्जना भएको स्थगनले पनि करलाई प्रभाव पर्न गएको कम्पनीले जनाएको छ । कम्पनीले गत वर्षसम्म आकस्मिक दायित्वमा देखाएको केही मुद्दाहरूको यस आवमा छिनोफानो भई कम्पनीलाई परेको थप आर्थिक भारलाई चालु आवमा व्यवस्था गरिएको पनि कम्पनीले स्पष्ट पारेको छ ।