काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले कम्पनीको सेयर रजिस्ट्रारसम्बन्धी कार्य गर्न ग्लोबल आइएमई क्यापिटललाई सेयर रजिस्ट्रारमा नियुक्त गरेको छ ।

सोसम्बन्धी सम्झौतापत्रमा बिमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कवि फुँयाल र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गरेका छन् ।

कम्पनीले मिति २० असार ०७४ मा नेपाल बिमा प्राधिकरणबाट जीवन बिमाको कार्य गर्ने इजाजतपत्र गरी मिति १ साउनदेखि बिमा व्यवसाय गर्दै आएको छ । हाल कम्पनीको अधिकृत पुँजी ५०० करोड तथा जारी तथा चुक्ता पुँजी ४०० करोड रुपैयाँ रहेको छ ।

तेश्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा १८ करोड २४ लाख रुपैयाँ रहेको छ । यस अवधिसम्म कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ८ रुपैयाँ ६९ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ६७ पैसा रहेको छ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब ९८ करोड ५८ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै ,चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब ८९ करोड ४ लाख खुद बीमा शुल्क आर्जन गरेको छ । यस अवधिसम्ममा कम्पनीको जगेडा कोषमा १ अर्ब १० करोड ५ लाख रुपियाँ संचिति रहेको छ ।

हाल कम्पनीको जीवन बीमा कोषमा ६ अर्ब ७ करोड ७३ लाख रुपियाँ छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जीवन बीमा कोष ४३ प्रतिशतले बढी हो ।