काठमाडौं । नेपाल–ब्राजिल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री का अध्यक्ष अखिल चापागाईंको नेतृत्वमा रहेको नेपाली व्यवसायी प्रतिनिधिमण्डल ब्राजिलको भ्रमण गरेको छ ।

प्रतिनिधिमण्डलले ब्राजिलको कन्फेडेरेसन अफ नेशनल इन्डस्ट्री (सीएनआई) का अधिकारीहरूसँग भेट गरी आपसी चासो र व्यापारिक अवसरहरूबारे छलफल गरेका छन् । उक्त अवसरमा चापागाईंले नेपालमा व्यापार र लगानीको अनुकूल वातावरण रहेको जानकारी गराउदै नेपाली व्यवसायी ब्राजिलका लगानी कर्तालाई नेपालमा स्वागत गर्न तयार रहेको बताए ।

ब्राजिलस्थित नेपाली राजदूत निर्मलराज काफ्लेले नेपाल सरकारले व्यवसायका लागि प्रदान गर्ने प्रोत्साहन र नीतिगत सुविधाहरूबारे जानकारी गराएका थिए ।

सीएनआई अध्यक्ष फ्रेडरिको लामेगोले नेपाली प्रतिनिधिमण्डललाई हार्दिक स्वागत गर्दै ब्राजिल र नेपालको व्यापारिक समुदायबीच सहकार्य र सम्पर्क विस्तारका लागि सघाउने प्रतिबद्धता जनाए । । दुवै पक्षले भविष्यमा निरन्तर सम्पर्कमा रहने र सम्भावित सहकार्यका क्षेत्रहरू पहिचान गर्दै जान सहमति जनाए ।

यसै क्रममा, नेपाली प्रतिनिधिमण्डलले ब्राजिलको कन्फेडेरेसन अफ कमर्सियल एण्ड बिजनेस एसोसिएसन्स (सीएसीबी) को समेत भ्रमण गरेको छ। सीएसीबी का सुपरिन्टेन्डेन्ट कार्लोस रेजेन्डे र संस्थागत सल्लाहकार मोनिका मोन्टेइरोले प्रतिनिधिमण्डललाई स्वागत गरेकी थिइन् । ब्राजिलको परराष्ट्र मन्त्रालयका मिनिष्छर काउन्सिलर अल्मिर नसिमेन्तो पनि उक्त भेटमा उपस्थित थिए।