काठमाडौँ। नागढुङ्गा–नौबिसे सडकखण्ड दिउँसो साढे ४ घण्टा बन्द गरेर निर्माण कार्य अघि बढाइने भएको छ । काठमाडौँ र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा यही जेठ १० गतेदेखि २५ गतेसम्म बिहान १०ः३० बजेदेखि दिउँसो ३ बजेसम्म उक्त सडकखण्ड बन्द गरेर काम गर्न लागिएको हो ।
यसअघि उक्त खण्डमा रातिमा बन्द गरेर काम हुँदै आएको थियो । आयोजनाले नागढुङ्गा–पिपलामोड सडक निर्माणका लागि यसरी सडक बन्द गर्नुपर्ने आवश्यकता रहेको जनाएपछि स्थानीय प्रशासनसँगको समन्वयमा दिउँसो समेत काम गर्न अनुमति दिइएको हो ।
“निर्माण आयोजनाले नागढुङ्गा पिपलामोड सडक निर्माणका लागि यसअघि राति भत्काउने काम भएको र अब निर्माण दिउँसो गर्नुपर्ने भनेर प्रस्ताव आएको थियो । प्राविधिक रुपमा निर्माण दिउँसो नै गर्नुपर्ने भनेपछि, त्यसका लागि अनुमति दिइएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको भनाई छ ।
नारायणगढ–मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले आज सूचना गरी काठमाडौँबाट जाने सवारीसाधन नागढुङ्गामा र नौबिसेतर्फबाट आउने सवारीसाधन खानी खोलामा रोकिने उल्लेख गरेको छ । बन्दको समयमा धार्के–सिता पाइला तथा टोखा–छहरे त्रिशूली गल्छी सडक प्रयोग गर्न सकिने भन्दै सोही मार्ग प्रयोग गर्नका लागि अनुरोध गरेको छ ।