काठमाडौँ। नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा.डा.विश्वनाथ पौडेलले १८औँ गभर्नरका रूपमा सशपथ ग्रहण गरेसँगै कार्यभार सम्हालेका छन् । उनले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट शपथग्रहण लगत्तै बालुवाटारस्थित केन्द्रीय बैंकको कार्यालय पुगेर कार्यभार सम्हालेका हुन् ।

कार्यभार सम्हाल्दै नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले पहिलो निर्णयका रूपमा पाँच सय र १ हजारका नयाँ नोट छपाई गर्ने निर्णयमा हस्ताक्षर गरेका छन्

लामो समयको अलमलपछि मुलुकले १८औँ गभर्नरका रूपमा पौडेललाई पाएको हो । मङ्गलवार बिहान बसेको गभर्नर सिफारिस समितिको बैठकले गरेको सिफारिस अनुसार सोही दिन बसेको मन्त्रिपरिषद् बैठकले उनलाई गभर्नरमा नियुक्ति दिएको थियो ।

साथै, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नवनियुक्त गभर्नर पौडेलले भेटेका छन्  । आज बिहान अर्थ मन्त्रालय पुगी नवनियुक्त गभर्नर पौडेलले अर्थमन्त्री पौडेललाई भेटेका हुन् । सोही अवसरमा अर्थमन्त्री पौडेलले बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन्।

अर्थमन्त्री पौडेलले वित्त नीति र मौद्रिक नीतिबिच समन्वय गरी अघि बढ्ने उल्लेख गर्दै नवनियुक्त गभर्नर पौडेलले अर्थतन्त्र र मौद्रिक क्षेत्रमा देखा परेका समस्या समाधानमा महत्त्वपूर्ण पहल गर्ने विश्वास व्यक्त गरे । सुस्त अर्थतन्त्रलाई गति प्रदान गर्ने तथा खराब कर्जाको चपेटामा परेको बैंकिङ क्षेत्रलाई सुरक्षित अवतरण गराउनु उनको मुख्य चुनौती देखिएको छ । पौडेल अब्बल युवा अर्थशास्त्रीको रूपमा स्थापित मानिन्छन् ।