काठमाडौं । करिब २ वर्ष पछि नेपालका बैंकहरुले भद्र सहमति तोडेर आफ्नो सहुलियतमा ब्याजदर थप घट गरेका छन् । नेपाल राष्ट्र बैंकले २०७८ कात्तिक २८ गते बैंक तथा वित्तीय संस्थाले अघिल्लो महिनाको आधारमा औषतमा १० प्रतिशत मात्रै ब्याजदर तलमाथि गर्न पाउने व्यवस्था गरेको छ । त्यसयता सबै वाणिज्य बैंकर्स संघ, विकास बैंकर्स संघ र वित्त कम्पनी बैंकर्स संघहरुले भद्र सहमतिकै आधारमा पछिल्ले महिना लागू हुने ब्याजदर अघिल्लो महिनामै तय गर्ने गरेका थिए ।
तर, करिब १९ महिना पछि सबै बैंकर्स संघले आफ्नो सहुलियतको आधारमा राष्ट्र बैंकको नियमनमा बसेर ब्याजदर थपघट गर्ने सहमति गत साता नै गरेका थिए । सोही अनुसार अहिले अधिकांस वाणिज्य बैंक र विकास बैंकहरुले आफ्नो सहुलियत अनुसार निक्षेपको ब्याजदर थपघट गरेर आजदेखि लागु गरेका हुन् । जसमा हाल संचालनमा रहेका २० वाणिज्य बैंक मध्ये ९ वटाले असार महिनामा लागू ब्याजदरमा साउनमा घटाएका छन् भने ५ वटाले बढाएका छन् ६ वटाले असारमै लागू ब्याजदर साउनमा कायम गरेका छन् ।
यसअघिसम्म भद्र सहमतिको आधारमा बैंकहरुले ब्याजदर तोक्ने हुँदा वर्ग अनुसारको बैंकमा एकै अंकका ब्याजदर हुने गरेको थियो तर साउनमा भने फरक पर्न गएको हुँदा निक्षेपकर्ता र बैंकबीच बार्गेन बढ्नुका साथै बैंकहरुबीच पनि प्रतिस्पर्धा हुने प्रष्ट देखिएको छ । वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दतीमा बैंकहरुले न्यूनतम ८.९९ प्रतिशत र संस्थागतमा ६.९९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेका छन् ।
ब्याजदर बढाउने ५ वाणिज्य बैंकहरुः
ब्याज बढाउनेमा प्राइम कमर्सियल,एनआइसी एशिया, नबिल, एनएमबि र कुमारी बैंक पनि छन्। एनएमबि बैंकले सबै वाणिज्य बैंकहरुमध्ये सर्वाधिक ब्याज दिने घोषणा गरेको छ । एनबिएका अध्यक्ष सुनिल केसी सीइओ रहेको एनएमबिले साउन महिनामा निक्षेपकर्तालाई सर्वाधिक ब्याजदर निर्धारण गरेको हो । व्यक्तिगत मुद्दतीमा फरक–फरक अवधिको लागि दर फरक पार्दै बैंकले ब्याजदर तोकिो छ । जसमा कम्तिमा ९ देखि अधिकतम १०.९८ प्रतिशतसम्म ब्याज दिने छ। बचतमा बैंकले ५.९८ देखि ७.९८ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । रेमिट्यान्ससम्बन्धी एनएमबी जन्मभूमि बचत खातामा बैंकले ८.९८ प्रतिशत ब्याज दिने भएको छ ।
त्यस्तै, एनआइसी एशिया बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा १०.९३ प्रतिशतसम्म ब्याजदर दिने भएको छ । बैंकले ३ महिनादेखि १५ वर्षका व्यक्तिगत मुद्दति निक्षेपमा उक्त ब्याजदर दिने जनाएको छ । मासिक रुपमा जम्मा गरी मुद्दतिमा परिवतर्न हुने योजनामा पनि बैंकले व्यक्तिलाई सोही ब्याजदर दिने भएको छ । बैंकले संस्थागततर्फ भने ६ महिनादेखि १५ वर्षसम्मका लागि ८.९३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बचततर्फ न्यूतम ६.०७३ देखि अधिकतम ८.०७३ प्रतिशतसम्म ब्याज दिने बैंकले जनाएको छ ।
साउन महिनामा निक्षेपको ब्याजदर बढाउने प्राइम बैंकले बचतको ५.९३ देखि ७.९३ प्रतिशतसम्म ब्याज दिने छ भने, मुद्दती निक्षेपमा बैंकले १०.९३ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको छ। साथै, नबिल बैंकले साधारण बचतमा बढीमा ८.९० प्रतिशतसम्म र मुद्धती निक्षेपमा न्युनतम ९.९९ प्रतिशतदेखि ११.४९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।
कुमारी बैंकले ५ वर्षभन्दा माथिको व्यक्तिगत मुद्दति निक्षेपमा १०.०१ प्रतिशत ब्याज दिने भएको छ । त्यस्तै, १ वर्षदेखि ५ वषसम्मकोमा ९.९९ प्रतिशत र ३ महिनादेखि १ वर्षसम्मको व्यक्तिगत मुद्दति निक्षेपमा ९.९० प्रतिशत ब्याज दिने जनाएको छ । बैंकले बचतमा न्यूनतम ५।४० देखि ७।४० प्रतिशतसम्म ब्याज दिने भएको छ ।
ब्याजदर घटाउने ९ वाणिज्य बैंकहरुः
साउन महिनामा लागु हुने गरी ९ वटा वाणिज्य बैंकले निक्षेपमको ब्याजदर घटाएका छन् । जसमा राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, नेपाल एसबीआइ बैंक, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिद्धार्थ, सानिमा, नेपाल बैंक र कृषि विकास बैंकले घटाएका छन्। असार महिनामा मुद्धती निक्षेममा ९.९९ प्रतिशतसम्म ब्याजदर दिएका यी ९ वाणिज्य बैंकहरुले साउन १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएका हुन् ।
ब्याजदर घटाएर राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्धती निक्षेपमा अधिकतम ८.९९ प्रतिशत, प्रभुले ८.९९ प्रतिशत, एसबीआइले ९.१ प्रतिशत, माछापुच्छ्रेले ९ प्रतिशत, एभरेष्टले ९ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्डले ९.९५ प्रतिशत, सिद्धार्थ ९.५ प्रतिशत, सानिमा ९.५२ प्रतिशत, नेपाल बैंक ८.९९ प्रतिशत, कृषि विकास बैंक ९.५१ प्रतिशत कायम गरेका हुन् ।
संचालनमा रहेका १४ वटा वाणिज्य बैंकहरुले साउन महिना निक्षेपको ब्याजदर थपघट गर्दा हिमालयन, ग्लोबल आइएमइ, लक्ष्मी सनराइज, सिटिजन्स बैंकले भने स्थीर राखेका छन् । यी बैंकहरुको साउन महिना पनि निक्षेपको ब्याजदर ९.९९ प्रतिशत नै कायम छ ।