जनकपुरधाम । प्रतिनिधिसभाबाट मिटरब्याज सम्बन्धी कानुन पारित भएकोमा मिटरब्याज पीडितले जनकपुरमा खुसियाली मनाएका छन् । मिटरब्याजलाई अनुचित लेनदेन मान्ने विधेयक प्रतिनिधिसभाबाट पारित भएको खुसीमा मिटरब्याज पीडितले जनकपुरमा र्‍याली गरेका हुन् ।

मिटरब्याज पीडित संघर्ष समितको आयोजनामा धनुषा, महोत्तरी र सिरहाका पीडितहरूले र्‍याली निकालेका हुन् । साथै सरकारले बनाएको कानुन कार्यान्वयन गर्न उनीहरुले माग गरेका छन् ।

जनकपुरको बाह्रविघा मैदानबाट पीडितको र्‍याली रामानन्दचौक, पीडारीचौक, थापाचौक, मधेश भवन एरिया, मिल्स एरिया, भानुचोक, शिवचौक हुँदै जनकचोकमा कोणसभामा परिणत भएको थियो ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन विधेयक–२०८० संशोधनसहित पास गरेको हो ।