काठमाडौँ । काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा मंगलबार पनि अवरोध भएकाे छ । उपत्यकाको फोहोर विसर्जनमा बन्चरेडाँडा र सिसडोलका बासिन्दाले पुन: अवरोध गरेका हुन् । ल्यान्डफिल प्रभावित क्षेत्रका बासिन्दाले फोहोर लैजान अवरोध गरेपछि मंगलबार पनि फोहोर लैजान नसकिएको हाे ।
हिजाे (सोमबार) बिहानैदेखि नुवाकोट ककनी गाउँपालिकाका र धादिङको धुनबेसी १ का जनप्रतिनिधि र स्थानीयले अवरोध गरेका हुन् । आफूहरूले राखेको माग सम्बोधन नभएको भन्दै आफूहरू आन्दोलनमा उत्रिएको ककनी गाउँपालिका ३ का वडाअध्यक्ष घननाथ बजगाईले जानकारी दिए ।
अवरोधपछि काठमाडौं उपत्याकाको फोहोर बोवकेर ल्यान्डफिल साइट सिसडोल/वञ्चरेडाँडा जाँदै गरेका ५० ट्रक बाटैमा रोकिएका छन् । फोहोरले स्थानीयकोव स्वास्थ्यमा प्रतिकूल असर परेको र सरकारसँग यसबारे बारम्बार सहमति भए पनि कार्यान्वयन नभएपछि आफूहरू पुन: आन्दोलनमा उत्रन बाध्य भएको वडाअध्यक्ष बजगाईले बताए ।
उनीहरू काठमाडौं महानगरसँग भएकाे सहमति कार्यान्वयन हुन नसकेको उनीहरूको आरोप छ ।
हाल बन्चरेडाँडामा उपत्यकाका २० मध्ये १७ स्थानीय तहकाे फोहोरमैला व्यवस्थापन हुने गरेको छ । काठमाडौं उपत्यकाबाट दैनिक फोहोर बोकेको करिब ३८० वटा ट्रक बञ्चरेडाँडा जाने महानगरले जनाएको छ । बञ्चरेडाँडा र सिसडोलका स्थानीयको अवरोध कारण बुधबारदेखि काठमाडौंको फोहोर नउठ्ने फोहोरमैला व्यवस्थापन संघले जनाएको छ ।
ककनी गाउँपालिकाले फोहोर बोकेर बन्चरेडाँडा जाने ट्रकमाथि शुल्क लिने गरी गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्व अदालतले आदेश दिएको छ । फोहोरमैला बोकेका गाडीलाई निर्वाध रूपमा आवतजावत गर्न दिन र ट्रकबाट शुल्क नलिन सर्वोच्चले अन्तरिम आदेश जारी गरेको हो । तर, आदेशको अवज्ञा गर्दै स्थानीयले फोहोर बोकेर जाने गाडीमा अवरोध गरेका हुन् ।