काठमाडौँ । तारकेश्वर नगरपालिका वडा नं ३ का वडाध्यक्ष परशुराम अर्यालले विकासलाई पूर्वाधारको विस्तारसँग मात्र जोडेर बुझ्न नहुने बताएका छन् । नगर प्रमुखसँग सञ्चारकर्मी कार्यक्रमका क्रममा बोल्दै उनले विकासले समाजको समग्र क्षेत्रलाई सुदृढ बनाउने विचार राखेका हुन् ।
वडा अध्यक्ष अर्यालले आफ्नो वडामा भौतिक मात्र नभई सामाजिक, आर्थिक र सांस्कृतिक पक्षलाई समेत समेटेर विकासलाई अघि बढाइएको जानकारी दिए । “विकास निरन्तर प्रक्रिया हो । यो व्यवस्थित तरिकाले अघि बढ्नुपर्छ,” उनले भने, “विकासका लागि होलिस्टिक अप्रोच आवश्यक छ ।”
वडामा गुणस्तरीय शिक्षा, स्वास्थ्य बीमा, महिला तथा ज्येष्ठ नागरिक लक्षित विशेष कार्यक्रमहरू सञ्चालनमा रहेको उनले जानकारी दिए । यस्तै वडाले विभिन्न समयमा पाठेघर र प्रोस्टेट रोगसम्बन्धी स्क्रिनिङ कार्यक्रम, रक्तदान, महिला सशक्तीकरण तथा ज्येष्ठ नागरिक विद्यालय जस्ता कार्यक्रमहरू सञ्चालनमा ल्याएको उनले बताए ।
वडाध्यक्ष अर्यालले विशेषगरी महिला र ज्येष्ठ नागरिकसँग संवाद गर्दै नीति निर्माणमा उनीहरूको आवाज समावेश गर्ने प्रयास गरिएको जनाए । “ज्येष्ठ नागरिकहरू हाम्रो समृद्धिको स्रोत हुन् । उनीहरूबाट सिक्ने अवसर पनि विकासकै अङ्ग हो । त्यही अवधारणालाई मानेर ज्येष्ठ नागरिक विद्यालय ल्याएका हौं,” उनले भने । ज्येष्ठ नागरिक विद्यालयको अवधारणा अन्य स्थानीय तहका लागि पनि अनुकरणीय हुने विचार उनले राखे ।
‘अबको साढे २ वर्षको अवधिमा हाम्रो वडामा धेरै विकास भइसक्छ’ (विशेष अन्तर्वार्ता)
धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि भूवनेश्वरी मन्दिर र शान्तिग्राम क्षेत्रमा ट्रेल मार्ग विकास गरिएको उनले उल्लेख गरे। वडा नं ३ ले पछिल्लो समय देखाएको सक्रियता र समावेशी कार्यक्रमहरूले स्थानीय विकासमा नयाँ ढोका खोल्ने अपेक्षा गरेको पनि उनले बताए ।