काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको १० महिनासम्मको आर्थिक तथा वित्तीय तथ्यांक सार्वजनिक गरेको छ।
जसले आर्थिक अवस्थामा सुधार देखाएको छ। महँगीमा कमी, व्यापार प्रवाहमा सुधार, र विदेशी मुद्रा सञ्चितिमा वृद्धि जस्ता सूचकहरूले नेपालको अर्थतन्त्र सही दिशामा अगाडि बढिरहेको संकेत सार्वजनिक गरेको छ ।
२०८२ वैशाखमा उपभोक्ता मुद्रास्फीति दर २.७७ प्रतिशतमा सीमित रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ४.४० प्रतिशतभन्दा उल्लेखनीय कमी हो। मुद्रास्फीति घट्दा उपभोग्य वस्तुहरूको मूल्य स्थिर हुने र आम उपभोक्तालाई राहत मिल्ने देखिन्छ।
१० महिनामा कुल वस्तु निर्यात ७२.७ प्रतिशतले वृद्धि भई २ खर्ब १७ अर्ब ९१ करोड पुगेको छ। यता, आयातमा पनि १३.१ प्रतिशतले वृद्धि भई १४ खर्ब ७४ अर्ब १९ करोड पुगेको छ, जसका कारण व्यापार घाटा ६.७ प्रतिशतले बढेर १२ खर्ब ५६ अर्ब २८ करोड पुगेको हो।
निर्यात–आयात अनुपात १४.८ प्रतिशतमा पुगेको छ, जुन अघिल्लो वर्षको ९.७ प्रतिशतभन्दा सुधार हो। १० महिनामा रेमिट्यान्स १३.२ प्रतिशतले वृद्धि भई १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ। वैशाख महिना मात्रै १ खर्ब ६५ अर्ब ३० करोड बराबरको रेमिट्यान्स भित्रिएको छ, जसले देशको विदेशी आम्दानीमा महत्त्वपूर्ण योगदान दिएको छ।
चालु आर्थिक वर्षको १० महिनामा चालु खाता २ खर्ब ५५ अर्ब ९३ करोडले बचतमा रहेको छ। यस्तै, शोधनान्तर स्थिति पनि ४ खर्ब ३८ अर्ब ५२ करोडको बचतमा रहँदै आर्थिक सन्तुलनमा सकारात्मक संकेत दिएको छ।
भने विदेशी विनिमय सञ्चिति २०८२ वैशाख मसान्तसम्ममा २३.१ प्रतिशतले बढेर २५ खर्ब १२ अर्ब ९५ करोड पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति १८ अर्ब ४० करोड पुगेको छ ।







