काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको मलेखु-मुग्लिन सडकखण्ड आजदेखि रातिको समयमा बन्द गरिने भएको छ।

सडक निर्माण कार्यका लागि अत्यावश्यक बाहेकका सवारीसाधन असार ७ गतेसम्म राति साढे १० बजेदेखि बिहान ३ बजेसम्म सञ्चालनमा रोक लगाइएको हो।

जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी सुवास हमालका अनुसार उक्त सडकखण्डमा पर्ने बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा निर्माणाधीन पुलमा आरसीसी बिम राख्ने कार्य भइरहेको छ।

आरसीसी बिम राख्नका लागि ठूलो आकारको क्रेन प्रयोग गर्नुपर्ने भएकाले सुरक्षा र कार्य सहजताका लागि रातिको समयमा सवारी आवागमन बन्द गर्नुपरेको डीएसपी हमालले बताए।

सडक बन्द हुने अवधिभर मुग्लिनतर्फबाट मलेखुतर्फ जाने भारी सवारी साधनलाई मुग्लिन र हलुका सवारी साधनलाई कुरिनटारमा रोकिनेछ । त्यसैगरी, मलेखुतर्फबाट मुग्लिनतर्फ जाने भारी सवारी साधनलाई मलेखु र हलुका सवारी साधनलाई शितलबजारमा रोकिनेछ।

यी स्थानमा रोकिएका सवारी साधनलाई बिहान तीन बजेपछि मात्रै गन्तव्यतर्फ जान दिइनेछ। एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक सवारीसाधनलाई भने सञ्चालनमा प्राथमिकता दिइने जनाइएको छ ।