काठमाडौं । बिकास बैंकहरुले ‘हरित निक्षेप योजना’ र ‘हरित कर्जा योजना’ ल्याउने भएका छन् । बैंकहरुले दिगो बिकासमा योगदान दिने उद्देश्यले ‘हरित निक्षेप योजना’ र ‘हरित कर्जा योजना’ ल्याउने भएका हुन् ।
डेभलपमेण्ट बैंकर्स एशोसियसन नेपालको कार्य समितिले हाललाई निम्न उत्पादनमूलक क्षेत्रमा गरिने लगानीलाई हरित कर्जा योजना अन्तर्गत समेट्ने निर्णय गरेको छः
- कृषिजन्य उद्यम
- बनजन्य उद्यम
- जल उर्जा
- सौंर्य उर्जा
- जैविक उर्जा
- वायु उर्जा
- केवलकार/रोपवे,
- विद्युतीय सवारी साधन,
- फोहोर पानी प्रशोधन गर्ने उद्यम आदि ।
डेभलपमेण्ट बैंकर्स एशोसियसन नेपालले बैंक तथा वित्तीय संस्थाहरुको लगानी तुलनात्मकरुपमा कम उत्पादनशील क्षेत्रमा बढ्दै गएकाले उत्पादनमूलक र दिगो बिकासमा टेवा दिने क्षेत्रमा कर्जा बढाउने उद्देश्यले ‘हरित कर्जा योजना’ ल्याउने निर्णय गरेको हो ।
हरित कर्जा योजनामा गरिने लगानीका लागि बिस्तारै स्रोतको सुनिश्चतता पनि गर्दै जाने उद्देश्यले ‘हरित निक्षेप योजना’ पनि ल्याइने भएको छ ।
‘हरित निक्षेप योजना’ मा अन्य बचत र मुद्दति निक्षेपमा भन्दा शुन्य दशमलव पच्चिस प्रतिशत अंकले बढि व्याज प्रदान गर्ने र ‘हरित कर्जा योजना’ मा अन्य सोही प्रकृतिको कर्जा योजनामा भन्दा शुन्य दशमलव पच्चिस प्रतिशत अंकले कम व्याजमा कर्जा प्रवाह गर्नेगरी कर्जा योजनाको प्रडक्टपेपर बिकास गरिने भएको छ ।