काठमाडौँ। काठमाडौँबाट बाहिरिने लामा तथा मध्यम दुरीका सवारी साधनलाई १२ स्थानबाट बाढी–पहिरो र सडकको अवस्थाबारे जानकारी  दिइने भएको छ ।

नयाँ बसपार्क, कलंकी, नागढुङ्गा, बल्खु, फर्पिङ, कोटेश्वर, भक्तपुर, चापागाईँ,साँखु, टोखा, तिनपिप्ले र भिमढुंगा गरी १२ वटा स्थानमा स्थापना गरिएका नागरिक सहायता कक्षबाट मनसुन जन्य प्राकृतिक प्रकोप (बाढी–पहिरो) का साथै सडकको अवस्था बारे जानकारी दिइने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले बाढी पहिरोका कारण सडक अवरुद्ध भई अप्रिय घटना घट्नुका साथै जन धनको क्षति समेत हुन सक्ने भएकाले प्राकृतिक प्रकोपबाट हुने जोखिम न्यूनीकरणका लागि नागरिक सहायता कक्षको स्थापना गरिएको जानकारी दिएका छन् ।