काठमाडौं । बैंक तथा वित्त कम्पनीहरुले करिब ७० अर्ब रुपैयाा कमाएका छन् । नेपाल राष्ट्र बैंकद्वारा प्राप्त तथ्यांकअनुसार गत आर्थिक वर्षको ११ महिनामा बैंक तथा वित्त कम्पनीहरुले ६९ अर्ब ९० करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।

जसमा वाणिज्य बैंकहरुले ६४ अर्ब ३३ करोड ६३ लाख रुपैयाँ, विकास बैंकहरुले ४ अर्ब ६७ करोड ४९ लाख रुपैयाँ र वित्त कम्पनीहरुले ८९ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । बैंक तथा वित्त कम्पनीहरुले आर्जन गरेको उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा २.३९ प्रतिशत अर्थात् १ अर्ब ७१ करोड २५ लाख रुपैयाँ कम हो । आव २०७९ जेठ मसान्तसम्म बैंक तथा वित्त कम्पनीहरुले कुल ७१ अर्ब ६१ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।

एक वर्षमा यस्तो नाफा वाणिज्य बैंकहरुको १.२६ प्रतिशत अर्थात् ८२ करोड ३७ लाख रुपैयाँ र विकास बैंकहरुको १९.२९ प्रतिशत अर्थात् १ अर्ब ११ करोड ७१ लाख रुपैयाँ घट्दा वित्त कम्पनीहरुको भने ३४.४१ प्रतिशत अर्थात् २२ करोड ८३ लाख रुपैयाँले वृद्धि भएको छ । अघिल्लो आवको जेठ मसान्तसम्म वाणिज्य बैंकहरुले ६५ अर्ब १६ करोड, विकास बैंकहरुले ५ अर्ब ७९ करोड २० लाख र वित्त कम्पनीहरुले ६६ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।

प्राप्त तथ्यांकको आधारमा ११ महिनामा सबैभन्दा बढी नाफा कमाउनेमा वाणिज्य बैंकहरु तर्फ नबिल बैंक, विकास बैंकहरुतर्फ मुक्तिनाथ विकास बैंक र वित्त कम्पनीहरुतर्फ क्यापिटल मर्चेन्ट एण्ड फाइनान्स कम्पनी रहेको छ ।

वाणिज्य बैंकतर्फ नबिल अग्रस्थानमा हुँदा ग्लोबल र इन्भेष्टमेन्ट मेगा पछि पछि
संचालनमा रहेका २० वाणिज्य बैंकले गत आवको जेठ मसान्तसम्म ६४ अर्ब ३३ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । जसमा २ वटा बैंकले ५ अर्ब माथि, ९ वटा बैंकले ३ अर्बदेखि ५ अर्ब रुपैयाँसम्म र बाँकी ९ वटाले १ अर्बमाथि ३ अर्ब रुपैयाँसम्म खुद नाफा कमाएका छन् ।

यसरी अबौं नाफा कमाउने वाणिज्य बैंकहरुमा नबिल बैंक पहिलो स्थानमा रहेको छ । बैंकले ११ महिनामा ७ अर्ब ११ करोड रुपैयाँ खुद नाफा कमाएको हो ।

यस्तै सो अवधिमा सबैभन्दा बढी नाफा कमाउनेको दोस्रो नम्बरमा ग्लोबल आइएमई बैंक ६ अर्ब ५० करोड र तेस्रो नम्बरमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ७६ करोड रुपैयाँ खुद नाफा कमाएका छन् ।

सो अवधिमा एनआइसी एशियाले ४ अर्ब ६३ करोड, राष्ट्रिय वाणिज्यले ४ अर्ब ४७ करोड, एनएमबिले ३ अर्ब ३२ करोड र हिमालयन बैंकले ३ अर्ब २९ करोड रुपैयाँ खुद नाफा कमाएको छ । साथै, प्राइम कमर्सियलले ३ अर्ब २१ करोड, स्टयाण्डर्ड चार्टर्डले ३ अर्ब ११ करोड, नेपाल बैंकले३ अर्ब ७ करोड, एभरेष्टले ३ अर्ब ६ करोड, कुमारीले २ अर्ब ९५ करोड, सानिमाले २ अर्ब २५ करोड, सिद्धार्थ बैंकले २ अर्ब २२ करोड र नेपाल एसबिआई बैंकले २ अर्ब ९ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

गत आवको ११ महिनामा लक्ष्मी बैंकले १ अर्ब ६८ करोड, माछापुच्छ्रे बैंकले १ अर्ब ६८ करोड, सिटिजन्स बैंकले १ अर्ब ६८ करोड, सनराइजले १ अर्ब ५९ करोड र कृषि विकास बैंकले १ अर्ब ५६ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

विकास बैंकहरुको नाफाः

संचालनमा रहेका १७ वटा विकास बैंकहरुले गत आवको ११ महिनामा विकास बैंकहरुले ४ अर्ब ६७ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । जसमा मुक्तिानाथ विकास बैंकले अर्ब बढी खुद नाफा कमाउँदा ४ वटाले ५० करोड रुपैयाँमाथि ८२ करोड रुपैयाँसम्म र बाँकीले ५० करोड रुपैयाँभन्दा कम खुद नाफा कमाएका छन् ।

सो अवधिमा मुक्तिनाथले १ अर्ब ९ करोड, गरिमाले ८२ करोड, साइन रेसुङ्गाले ७० करोड, महालक्ष्मीले ६६ करोड, लुम्बिनीले ५२ करोड, ज्योतिले ३७ करोड, सांग्रिलाले ३५ करोड र मितेरी डेभलपमेन्ट बैंकले १० करोड रुपैयाँ खुद नाफा कमाएका छन् ।

राष्ट्र बैंकबाटप्राप्त तथ्यांकमा ६ वटा विकास बैंकहरुको खुद नाफा समावेश भएको छैन् ।

वित्त कम्पनीहरूको खुद नाफाः
गत आवको ११ महिनामा वित्त कम्पनीहरुले ८९ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । जसमा १ करोड रुपैयाँ माथि साढे ४५ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । वित्त कम्पनीहरुतर्फ सो अपधिमा सबैभन्दा बढी क्यापिटल मर्चेन्ट एण्ड फाइनान्सले ४५ करो ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्दा गुर्खाज फाइनान्सले ११ करोड ९५ लाख, आइसीएफसी फानान्सले ११ करोड, पोखरा फाइनान्सले ६ करोड ७१ लाख, सेन्टल फाइनान्सले ४ करोड ३८ लाख, नेपाल सेयर मार्केट एण्ड फाइनान्सले ४ करोड २८ लाख, जानकी फाइनान्सले ३ करोड मल्टी पर्पोज फाइनान्सले १ करोड ११ लाख र रिलाइन्स फाइनान्सले १ करोड रुपैयाँ खुद नाफा कमाएका छन् ।

राष्ट्र बैंकबाटप्राप्त तथ्यांकमा ८ वटा वित्त कम्पनीहरूकाे खुद नाफा समावेश भएको छैन् ।