काठमाडौं । लगानीको बाह्य क्षेत्र खुम्चिदा बैंक तथा वित्तीय क्षेत्रमा लगानी योग्य रकम (तरलता) थुप्रिन पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्म ४ खर्ब बढी तरलता थुप्रिन पुगेको छ ।
बैंकको रिपोर्ट अनुसार यतिखेर बैंक तथा वित्तीय संस्थाहरुमा हालसम्मकै उच्च ५५ खर्ब ६९ अर्ब रुपैयाँ बराबरको निक्षेप थुप्रिएको छ । तर यता कर्जा लगानी भने खुम्चिएर ४८ अर्ब ५८ अर्बमा झरेको छ ।
कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को आकार भन्दा ठूलो निक्षेप वित्तीय संस्थाहरुमा थुप्रिनुले मुलुकमा लगानीको वातावरण नभएको स्पष्ट हुन्छ । लगानीको वातावरण धुमिल हुँदैगर्दा बैंक तथा वित्तीय संस्थाहरुले आकर्षक ब्याजदर अफर गरेकैले लगानीकर्ताहरु निक्षेपमा आकर्षित भएको देखिन्छ । जुन बैंकहरुमा आएको एफडी (फिक्स डिपोजिट) बचतको तथ्याङ्कले प्रस्ट हुन्छ ।
झण्डै ६० प्रतिशत निक्षेप मुद्दतीमा
केन्द्रीय बैंकका अनुसार कूल निक्षेपको झण्डै ६० प्रतिशत (५९.३० प्रतिशत) निक्षेप मुद्दती खातामा जम्मा भएको छ । तरलता अभावको नाममा बैंकहरुले धमाधम निक्षेपको ब्याजदर बढाएसँगै बचतकर्ताहरु मात्र नभएर लगानीकर्ताहरु समेत मुद्दती बचत (एफडी)मा आकर्षित भएको देखिन्छ । राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म ३३ खर्ब २ अर्ब ४१ करोड ७० लाख रुपैयाँ बराबरको बचत मुद्दती खातामा जम्मा भएको छ ।
यस्तै, साधारण बचत खातामा १४ खर्ब १५ अर्ब ६३ करोड ९८ लाख रुपैयाँ (कूल निक्षेपको २५.४२ प्रतिशत) जम्मा भएको छ भने चल्ति खातामा ४ खर्ब ४७ अर्ब १९ करोड ७ लाख रुपैयाँ (८.०३ प्रतिशत) र कल डिपोजिटमा ३ खर्ब ५६ अर्ब ४१ करोड ६० लाख रुपैयाँ जम्मा भएको छ । समीक्षा अवधिमा २१ वटा वाणिज्य बैंकहरुकै निक्षेप ४९ खर्ब १० अर्ब ४३ करोड ४० लाख रुपैयाँ बराबर रहेको छ ।
कूल निक्षेपको हिस्सा कूल गार्हस्थ्य उत्पादन (जीडीपीको) तुलनामा १०३.४८ प्रतिशत हुँदैगर्दा वाणिज्य बैंकहरुले ९१.२५ प्रतिशत होल्ड गरेका छन् ।
कर्जा लगानी ३१ अर्बले घट्यो
गत चैत मसान्तको तुलनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानी ३१ अर्ब बढीले घटेको छ । आर्थिक वर्ष २०७९/८० को चैतमसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले कूल ४८ खर्ब ८९ अर्ब कर्जा लगानी गरेका थिए । जतिबेला बैंकहरुको निक्षेपको आकार जम्मा ५४ खर्ब ८५ अर्ब हारहारी मात्र रहेको थियो । तर तीन महिनामा नै बैंकहरुले ८४ अर्ब रुपैयाँले निक्षेप बढाउँदै ५५ खर्ब ६९ अर्ब पु¥याउँदा यता कर्जा लगानी घटेर ४८ खर्ब ५८ अर्ब रुपैयाँमा झरेको हो ।
खराब कर्जा १ खर्ब ६२ अर्बमाथि
तर कर्जा लगानी घट्दैगर्दा पनि यता बैंकहरुको खराब कर्जाको दर (एनपीएल) भने घट्न सकेको छैन । जेठ मसान्तसम्म बैंकहरुले गरेको कूल कर्जा लगानीको ३.३४ प्रतिशत अर्थात् १ खर्ब ६२ अर्ब रुपैयाँ खराब कर्जामा रुपान्तरण भएको छ । गरेको लगानी समयमा नै उठ्न नसक्दा बैंकहरु तनावपूर्ण अवस्थामा छन् भने नाफाको अधिक प्रतिशत जोखिम सुरक्षण (रिक्स प्रोभिजनिङ) का लागि छुट्याउनु परेको छ ।
केन्द्रीय बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले ११ महिनामा कूल ६९ अर्ब ९० करोड ३० लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गर्दैगर्दा यसै अवधिमा ४५ अर्ब १८ करोड रुपैयाँ माथिको प्रोभिजनिङ गर्नु परेको छ । यसले बैंक तथा वित्तीय संस्थाहरुको नाफामा संकुचन ल्याएको छ ।