काठमाडौं । हाथवे इन्भेस्टमेन्ट नेपालले आईपीओ निष्काशन गरेको छ । कम्पनीले आज साउन ४ गतेबाट पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरेको हाे ।

कम्पनीले धितोपत्र बोर्डबाट जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५ प्रतिशतले हुन आउने ५० रुपैयाँ अंकित मूल्यका कुल २९ लाख २५ हजार कित्ता आईपीओ बिक्रीको अनुमति पाएको छ । कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने २ लाख ९२ हजार ५०० कित्ता कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरेको हो ।

यो आईपीओमा विदेशमा रहेका श्रमिकले न्यूनतम २० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन् ।

यो आईपीओको निष्कासन बन्द साउन १८ गते बैंकिङ समयपछि हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी आईपीओ पूर्ण रुपमा बिक्री नभएमा सर्वसाधारणका लागि छुट्याइएको आईपीओमा जोडेर निष्कासन गरिने पनि कम्पनीले जनाएको छ ।

विदेशमा रहेका नेपालीलाई आईपीओ बिक्री गरेपछि कम्पनीले सर्वसाधारणका लागि दोसे चरणमा आईपीओ बिक्री खुला गर्नेछ। जसअनुसार कुल कित्ताको २ प्रतिशतले हुन आउने ५८ हजार ५०० कित्ता कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने १ लाख ४६ हजार २५० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी २४ लाख २७ हजार ७५० कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन् ।

हाथवे इन्भेस्टमेन्टको आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।