काठमाडौं । हेम वहादुर मल्ल सम्मान, २०७७ गोरक्ष बहादुर न्हुच्छे प्रधानलाई र हेम वहादुर मल्ल सम्मान, २०७८ भानु प्रसाद आचार्यलाई प्रदान गरिएको छ । आज साउन ३ गते उपराष्ट्रपति रामसराय प्रसाद यादवद्वारा उक्त सम्मान प्रदान गरिएको हो ।

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको सौजन्यमा नेपाल जनप्रशासन संघको आयोजनामा सम्पन्न कार्यक्रममा सम्मान पत्र र जनही रु दुई लाखको पुरस्कार समेत प्रदान गरिएको थियो । सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्र्पतिले उपयुक्त पात्रहरुले सम्मान पाएकोमा खुसी व्यक्त गरे । मुलुकमा सदाचार, इमान्दारिता तथा पारदर्शिता अभिबृद्धि गर्न सबै क्षेत्रको पैरवी आवश्यक रहेको कुरा अगाडि सार्दै प्रशासन तथा व्यवस्थापन क्षेत्रमा सक्रिय भूमिका खेल्नु हुन शुभकामना व्यक्त गरे ।

नेपाल जनप्रशासन संघका अध्यक्ष कृष्णहरि बास्कोटाले नेपाल सरकारको पूर्व सचिव, स्टाफ कलेजको पूर्व कार्यकारी निर्देशक र प्रशासन सुधार अनुगमन समितिको संयोजक भै उत्कृष्ट कार्य गरेवापत गोरक्ष बहादुर न्हुच्छे प्रधानलाई हेम बहादुर मल्ल सम्मान २०७७ प्रदान गरिएको कुरा बताए । यसैगरी, नेपाल सरकारको पूर्व सचिव र महालेखा परीक्षक भै उत्कृष्ट कार्य गरेवापत भानु प्रसाद आचार्यलाई हेम बहादुर मल्ल सम्मान २०७८ प्रदान गरिएको कुरा पनि उल्लेख गरे ।

सम्मान वितरण कार्यक्रममा नेपाल सरकारका पूर्ब सचिव एवं नेपाल राष्ट्र्बैकका पूर्व गभर्नर दीपेन्द्र पुरुष ढकालले सम्मान छनौटको आधार प्रस्तुत गरेका थिए भने कार्यक्रममा संघका उपाध्यक्ष प्रा. यशोदा काप्mले र साल्ट ट्र्ेडिंग कर्पोरेशनका अध्यक्ष प्रदिप लाल श्रेष्ठले पनि मन्तव्य व्यक्त गरेका थिए । संघका कोषाध्यक्ष दिलिपराज पौडेलले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा महासचिव मुकुन्द प्रसाद निरौलाले धन्यवाद ज्ञापन गरेका थिए ।

साथै, कार्यक्रममा सम्मान प्राप्त गर्ने गोरक्ष बहादुर न्हुच्छे प्रधानले के नेतृत्व परिवर्तन आजको आवश्यक्ता हो ? भन्ने विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । यसैगरी, भानु प्रसाद आचार्यले उदारीकरण तथा आर्थिक सुधारको संक्षिप्त समीक्षा विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

यस पूर्व हेम वहादुर मल्ल सम्मानवाट केदारभक्त माथेमा, चादनी जोशी, डा. भगवान कोईराला, डा.
विमल कोईराला, महावीर पुन, भोजराज पोखरेल, दमननाथ ढुङ्गाना, डा. सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम, डा. देवेन्द्रराज पाण्डे, कुलमान घिसिङ, डा. सन्दुक रुइत, डा. गौरीशंकर लाल दास र सूर्यनाथ उपाध्याय सम्मानीत भइसकेका छन् ।

प्रधान यो सम्मान प्राप्त गर्ने अठारौं र आचार्य उन्नाईसौ व्यक्ति हुन् ।