काठमाडौं । विसं २०८१ को पञ्चाङ्ग (पात्रो) प्रकाशन गर्न चाहनेलाई साउन मसान्तभित्र त्यससम्बन्धी विवरण पेस गर्न नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आह्वान गरेको छ ।

पञ्चाङ्गकारले सूर्यसिद्धान्तको मूल सूत्रबाट ग्रहस्पष्टीकरण, ग्रहको उदय-अस्त, चाडपर्व, विवाह, व्रतबन्धका मुहूर्त र ग्रहणआदि विषय समावेश भएको पञ्चाङ्ग गणना गरी पेस गर्न समितिले सार्वजनिक सूचनामार्फत् अनुरोध गरेको हो ।

आवश्यक दस्तुर पनि साउन मसान्तभित्र समितिको कार्यालय नारायणहिटीमा बुझाउनुपर्ने गरी सूचित गरिएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

मन्त्रिपरिषद्ले विसं २०७७ पुस २० गते गरेको समितिको गठन आदेशको स्वीकृति बमोजिम यो सूचना प्रकाशन गरिएको हो । गठन आदेश बमोजिम समितिको स्वीकृति बिना पात्रो (पञ्चाङ्ग) र भित्तेपात्रो (क्यालेण्डर) प्रकाशन गर्न पाइँदैन । स्वीकृति बिना प्रकाशन गरिएका पात्रोलाई नियमबमोजिम आवश्यक कारबाही गरिने पनि उनले बताए ।

नयाँ पञ्चाङ्गकारको हकमा आफैँले गणना गरेको कम्तीमा तीन वर्षको पञ्चाङ्ग गणनाको गणित र विसं २०८१ को गणनाको सबै आधार एवं गणित पनि पेस गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

म्याद नाघी आएका र अङ्ग नपुगेका पञ्चाङ्गलाई स्वीकृति प्रदान नगरिने समितिले जनाएको छ । भित्तेपात्रो प्रकाशन गर्न चाहने व्यक्ति वा संस्थाले पनि समितिको स्वीकृति लिनुपर्ने सूचनामा उल्लेख गरिएको छ । यससम्बन्धी जानकारी समितिको वेबसाइटबाट पनि लिनसकिने जनाइएको छ । रासस