काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति आगामी साउन ९ गते ल्याउने तयारी राष्ट्र बैंकले गरेको छ । यसअघि साउनको पहिलो साता नै मौद्रिक नीति ल्याउने तयारी केन्द्रीय बैंकले गरेपनि गभर्नर महाप्रसाद अधिकारीको विदेश भ्रमणका कारण दोस्रो हप्ता धकेलिएको हो ।
अर्थमन्त्री डा.प्रकाशशरण महतसँगै गभर्नर महाप्रसाद अधिकारीले भारतमा आयोजित जी–२० राष्ट्रहरुको सम्मेलनमा भाग लिएर बुधबार स्वदेश फिर्ता भइसकेका छन् । योसँगै केन्द्रीय बैंकले साउन ७ गतेदेखि ९ गतेभित्र आर्थिक वर्षको मौद्रीक नीति सार्वजनिक गर्ने तयारी गरेको हो ।
मौद्रिक नीतिका लागि आवश्यक सम्पूर्ण तयारी गरिसकिएको राष्ट्र बैंकका सूचना अधिकारी नारायण प्रसाद पोखरेलले जानकारी दिए ।
मौद्रिक नीति विनियोजित बजेटलाई नै सर्पोट गर्नेगरी आउँछ : गभर्नर अधिकारी
आर्थिक समस्याकाबीच आउने मौद्रिक नीति कस्तो आउँला भन्ने चिन्ता र चासोकाबीच गभर्नर महाप्रसाद अधिकारीले बजेटले लिएको अर्थनीति, आर्थिक वृद्धिदर र वित्तीय सन्तुलनमा नै केन्द्रि भएर बजेट आउने प्रस्ट पारे ।
बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको बैठकमा बोल्दै गभर्नर अधिकारीले बजेटले लिएको आर्थिक वृद्धिदरको लक्ष्यलाई भेटाउने गरी नै बजेट आउने जिकिर गरे । बजेट चालु आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने महत्वकांक्षी लक्ष्य निर्धारण गरेको छ ।
गभर्नर अधिकारीले बजेटले लिएको आर्थिक वृद्धिदर हासिल गर्ने, मूल्यवृद्धि नियन्त्रण गर्ने र बाह्य क्षेत्र व्यवस्थापन हुने गरी चालु आर्थिक वर्षको मौद्रिक नीति जारी गर्ने प्रतिवद्धता जाहेर गरे ।
सरकारले गत जेठ १५ गते ६ प्रतिशत माथिको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यसहित १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको थियो । सोही बजेटले लिएको आर्थिक वृद्धिदरको लक्ष्य, रोजगारी सिर्जना गर्नेदेखि मुलुकको वित्तीय तथा मौद्रिक नीतिको सुधार गर्नेगरी मौद्रिक नीति ल्याउने उनले बताए ।
‘पछिल्ला दिनमा बाह्य क्षेत्र सन्तुलित अवस्थामा रहेको छ । बैंकको ब्याजदर घट्दो क्रममा रहेको छ । यसले बैंकिङ सिस्टममा पर्याप्त तरलता मौज्दात रहेको छ । यसका बाबजुद पनि केही मूल्यवृद्धि नियन्त्रण हुन नसकेको साँचो हो’ गभर्नर अधिकारीले भने, ‘गत आर्थिक वर्षका लागि राखिएको मूल्यवृद्धिको बाञ्छत सीमा सात प्रतिशत रहेकामा त्योभन्दा माथि नै रहने देखिएको छ । सञ्चित कोष एक खर्ब ९३ अर्बले घाटामा छ । निक्षेप सङ्कलन राम्रो देखिए पनि कर्जाको बिस्तार घटेको छ । यी सबै समस्यालाई सम्बोधन गर्नेगरी बजेटले राखेको ६ प्रतिशतको आर्थिक वृद्धिदरलाई समेत भेट्नेगरी मौद्रिक नीति आउँछ ढुक्क हुनुस्’ गभर्नर अधिकारीले भने ।