काठमाडौं । सेतै दारी फुलेको, चाउरी परेका गाला, र निन्याउरो अनुहार पारेर टोलाइरहेका एक बृद्ध माइतीघर मण्डलामा भेटिए । हामीलाई जान्न मन लाग्यो र सोध्यौँ , किन यहाँ बस्नुभएको? तपाइको नाम के हो?
मनिलो अनुहार पार्दै भने, ‘मेरो नाम चादं बहादुर राना हो, म यहाँ रहरले आएको होईन, जिवनभर ज्याला मजदुरी गरेर कमाएको सारा बचत सहकारीले खाएर भाग्यो अनि सरकारसमक्ष न्याय माग्न आएको हुँ।’
उत्तम सहकारी बसुन्धाराले २ महिना अघि आफ्नो १८ लाख २८ हजार ५ सय सहित अन्य बेसाहाराहरुको पनि रकम बचत गरेर सहकारीमा नै ताला लगाएर भागेको थाहा पाए । त्यसयता पीडित चादं बहादुर राना पैसा फिर्ता दिलाइ पाऊँ भन्दै विभिन्न निकायमा न्यायको ढोका ढक्ढकाउन पुगिरहेका छन् । तर, निरन्तर प्रयासमा पनि उक्त बचत फिर्ता नपाएपछि बाध्य भएर कामधाम सबै छोडेर धर्ना बस्नुपरेको उनको दुखेसो छ ।
‘उमेरले पनि नेटो काटिसक्यो, जिवनभर थोरै–थोरै गरेर बचत गरेको पैसा पनि आफ्नो मुठीमा नहुदा र सम्बन्धित सरकारी निकायहरुबाट न्याय पाउने आशा निराशामा बदलिएर पनि यसरी सबै कामधन्दा छोडेर धर्ना बसेको हुँ ।’– सहकारी पीडित राना गुनासो गर्छन् । उनले आफ्ना बुबाले भनेको कुरा सम्झीदै भक्कानिए । बुबाले भन्नुहुन्थ्यो ‘बाबु पैसा तेरो मुठीमा रहँदा सम्म मात्रै तेरो हो नत्र भन्न सकिन्न ।’
बसुन्धार स्थित उत्तम सहकारी पीडित चांद बहादुर रानासँगै अन्य सहकारी पीडित बचतकर्ताहरु माइतीघर मण्डलामा निकै निरास भएर धर्ना बसिरहेका छन् ।
रानाको छेवैमा टोलाईरहेकी उदयपुर गाइघाट स्थायी घर भएकी अमृता राईको पनि समस्या उस्तै रहेछ । काठमाडौको एयरपोर्ट नजिकै दुध डेरी सञ्चालन गरिरहेकी उनलाई भने गेटवे सहकारीले ठगेको उनको भनाई छ । सहकारीले ठगेपछि आम्दानीको एकमात्रै स्रोतको रुपमा रहेको दुध डेरी पसल पनि चलाउन नसकेको राईको गुनासो छ ।
‘पसल चलाउन सकिन पैसा डुब्यो, त्यसपछि एउटा जागिर गर्न थालेँ तर तैपनि बचत फिर्ता आउँछकी भन्ने आशमा यहाँ धर्ना बस्न आउँदा त्यही जागिर पनि गुम्यो ।’
अहिले कक्षा १०मा पढ्दै गरेको छोरो पढाउन र कोठाभाडा तिर्न समेत मुस्किल भएको उनको भनाई छ । सहकारीले ठगेपछि आम्दानीको स्रोत बन्द नै भयो, उनले दैनिक गुजारा चलाउन मुस्किल हुँदा पनि व्यवसायलाई निरन्तरता दिन प्रयास गरेको राई बताउँछिन् ।
‘सुरुमा त हातमा लगाएको ब्रास्लेट बेचेर व्यवसाय जारी राख्ने कोसिश गरेँ तर, सकिन ।’ उनले भनिन् ‘आफुले खाइ नखाई बचत गरेर राखेको पैसा खाएर यसरी भाग्ने यस्ता सहकारीलाई राज्य कानुनले कारवाही गर्नु पदैन ? तर, उनीहरुलाई हाम्रो आशुको श्राप भने अवश्य लाग्छ ।’
चांद बहादुर राना र अमृता राई जस्तै ललितपुरको इमाडोल– ४ बस्ने ओखलढुङ्गाका वृन्द्राराज राईपनि सहकारी पीडित हुन् । राईले १८ महिनाअघि छोरी जन्मिएपछि उनको नाममा सन्ध्या बचत तथा ऋण सहकारी ईमाडोल शाखामा खाता खोलेर दैनिक ५० रुपैयाँदेखि ६ सय रुपैयाँ जम्मा गर्न थालेका थिए । सहकारीमा गरेको बचतले भविष्यमा छोरीको पढाइमा लगानी गर्न पाइएला भन्ने आशमा उनले बचत गर्न शुरु गरेका हुन् । त्यतिमात्रै नभएर उक्त बचतले छोरीको सुनौलो भविष्य तय गरौँला, व्यावसायमा पनि केही सहयोग पुग्ला भन्ने आशा वृन्द्राराज राई थियो ।
ईमाडोलमा एउटा सानो मासु पसल गरेर बसेका राइले सहकारीले पैसा खाएर भागेपछि आफ्नो व्यापार चौपट भएको र कोठाभाडा तिर्न समेत हम्मे–हम्मे भएको बताउँछन् । सकारीले आफ्नो पैसा फिर्ता दिनुभन्दा अन्य कर्मचारी र ब्राञ्चलाई दोसारोपण गर्दै पन्छिन खोजेको राई बताउँछन् ।
‘माघ १ गतेदेखी ९ गतेसम्म बिरामी परे त्यो बिचमा संकलन गर्न नआएपछि सहकारीमा फोन गरे, फोन गर्दा केही समस्या आएको भन्दै आइतबारबाट सेवा सुचारु गर्ने बताइयो । तर आइतबार कार्यलयमा पुग्दा ताला लगाएर कर्मचारी फरार भएको थाहा पाए ।’ उनी भन्छन्, ‘केन्द्रिय कार्यलय बानेश्वमा पुुग्दा आफ्नो ब्रान्च जिम्मेवार नभएको त्याँका ठुला पदका कर्मचारीहरुले बताए । १० नग्रां खियाएर जोडेको बचत पानीमा मिल्न गयो । कोठा भाडा नतिरेको ४ महिना भयो ।’
काठमाडौंमा बस्नको लागि आम्दानी नभएको र गाउँ फर्किने सकेत पैसा नहुँदा सडकको बाँस हुने अवस्थामा आफ्नो परिवार पुगेको राईको गुनासो छ ।
‘सरकारले यति धेरै मानिस ठगिदा पनि चासो दिदैन,म जस्ता धेरै पिडितहरु सडकमा बिस्तारा लगाएर सुत्नुपर्ने अवस्थामा आइसक्यौँ।’सरकारले यस बिषयमा अझैपनि चासो नदेखाए थप सशक्त आन्दोलन गर्ने उनीहरु बताउँछन् ।
दैनिक मजदुरी गरी कमाएर सहकारीमा राखेको १ लाख २९ हजार रुपैयाँ फिर्ता पाउने अन्य उपाय नदेखेपछि राई ५० दिन देखि माइतीघरमा आएर धर्ना तथा आन्दोलन गरिरहेका छन् । उनीजस्तै करिब २२ सय जना बचतकर्ताको २२ करोड रुपैयाँ अपचलन गरी सहकारीका सञ्चालकहरू फरार भएको उनी बताउँछन् ।
राईमात्रै होइन बचतकर्ता महासङ्घ सङ्घर्ष समितिका संयोजक समेत रहेका हरिषचन्द्र श्रेष्ठले पनि २०६८ सालमा श्रेष्ठले आफ्नै मिहेनतले जोडेको ४ आना जग्गा बेचेको ६० लाख रूपैयाँ पैसा ओरियण्टल सहकारीमा नै राखेका थिए । तर पैसा राखेपछि एकपटकलाई ६ महिनाको ब्याज मात्रै उनले लिन पाए । त्यसपछि सहकारीमा समस्या परेको चर्चा हुन लागेपछि उनले पैसा फिर्ता लिन गए । तर, सहकारीका एक प्रबन्धकले बैंकभन्दा बलियो सहकारी भएको भन्दै नडुब्ने आश्वासन दिए जसकारण उनले उक्त समय पैसा फिर्ता लिएनन् । तर केही समयमै सहकारी डुब्यो।
केही समयअघि उनको निक्षेप ब्याजसहित ९० लाख पुगेको थियो । अहिले ब्याज समेत थप्दा कति पुग्यो उनीसँग कुनै हिसाब छैन । ‘विभिन्न सडक आयोजनामा काम गरेर कमाएको पैसाले किनेको जग्गा बेचेर एकमुष्ठ ६० लाख राखेको थिएँ। सबै स्वाहा भयो,’ उनले आफ्नो पीडा सुनाए ।
माइतीघरमा सहकारी संस्थाहरूबाट पीडितहरूले २४ घन्टे धर्ना थालेको ५० औँ दिनसम्म पनि राज्यको आँखा नपुगेको भन्दै श्रेष्ठले आन्दोलन अझै चर्काउने बताए । धर्नामा बसेका बचतकर्ता भन्छन्, ‘सहकारीका ठगहरूलाई राजनीतिक दलका नेताहरूले नै संरक्षण गरेका छन् । राजनीतिज्ञको आडमा उनीहरू खुलेआम हिंडिरहेका छन् । हाम्रै अगाडी खुशी भएर खुलेआम हिड्छन् राज्य निरिह छ’‘ श्रेष्ठले भने, ‘अदालतले दोषी ठहर गरेका व्यक्ति समेत कालो सिसा लगाएर बाउन्सर राखेर हिंड्छन् । बचतकर्तालाई उनले पैसा फिर्ता गर्नुपर्छ भनेर सर्वोच्चले फैसाल गरिसक्दा पनि बचत फिर्ता पाएनौं ।’
आफूले पसिना बगाएर कमाएको सहकारीका सञ्चालकहरूले अपचलन गरी फिर्ता नगरेपछि बचतकर्ताहरू ३० दिनदेखि घाम, पानी, दिन, रात नभनी माइतीघरमा २४ सै घण्टा धर्ना बसिरहेका छन् ।
बचतकर्ताको रकम अपचलन गरी व्यवस्थापक र सञ्चालकले पैसा फिर्ता नगरेपछि सहकारी बचतकर्ताहरु आन्दोलित बनेका हुन्। विभिन्न स्थानबाट काठमाडौं आएका उनीहरूले सहकारीमा बचत गरेको रकमको ग्यारेण्टी हुनुपर्ने, साँवा र ब्याजसहित फिर्ता गर्नुपर्ने भन्दै माइतीघर मण्डलामा ५० दिनदेखि घर्ना दिइरहेको बचतकर्ता महासङ्घ सङ्घर्ष समितिका संयोजक हरिषचन्द्र श्रेष्ठले बताउँछन् ।
गत आइतबार सहकारी पीडितले सिंहदरबार घेराउ गर्नुका साथै नयाँ बानेश्वरमा रहेको सहकारी विभागमा ताला समेत लगाएका थिए।
बाग्लुङ, कास्की, काठमाडौं लगायत विभिन्न स्थानबाट सहकारी पीडित बचतकर्ताले गत जेठ २० गतेदेखि शान्तिपुर्ण धर्ना दिंदै आएका छन् । तत्कालै माग पुरा नगरे देशभरबाट आन्दोलन गर्ने पीडितहरुले चेतवानी दिएका छन् ।
सञ्चालकले बचतकर्ताको पैसा शेयर बजारमा लगानी गर्दा ढुब्यो, पीडितको पक्षमा हामी छौं तर बचतकर्ताको पनि गल्ती देखिन्छ –सहकारी विभाग
राज्यले आम नागरिको समस्याको सवालमा चासोका साथ काम गरिरहेको सहकारी विभागका उप–रजिष्ट्रार तथा सुचना अधिकारी टोलराज उपाध्यायले बताए । डुबेका १२ सहकारीहरु मध्ये २ वटा सहकारीको समस्या राफसाफ भएको भन्दै राज्यले नियमअनुसारको समाधानको कार्य गरिरहेको उनको भनाइ छ ।
पिडितले सहकारीको मर्म नबुजी अथवा अवस्था नहेरी बचत गर्ने, सञ्चालक तथा व्यवस्थापकले गलत ठाउँमा लगानी गर्नाले यस्तो समस्या आएको उहाँको भनाई छ । उहाँका अनुसार केही सञ्चालक तथा व्यवस्थापले सहकारीको सम्पुर्ण स्वामित्व आफुले लिएर घरजग्गा किनबेच तथा शेयर मार्केटमा लगानी गर्ने गरेको पाइएको र समयमै बिक्री नहुँने अवस्था आएपछि सहकारी डुबेको अवस्था छ।
सहकारीका शेयर सदस्यहरुले चनाखो भएर ध्यान नदिदा पनि यस्तो अवस्था आएको भन्दै सञ्चालकले लगानी गर्दा र बचतकर्ताले बचत गर्दा ध्यान दिनुपर्ने उनले बताए ।
‘हजारौ शेयरहरुबाट १० अर्ब रुपैयाँ उठायो तर स्वामित्व सबै आफुले लिएर गलत ठाउँमा लगानी गर्यो उनले भने, ‘महत्वकांक्षी आशा राखेर तत्कालै कमाइहाल्छु भन्ने लोभले गलत ठाउमा लगानी गर्दा नै डुबेको हो । सञ्चालक समितीले भोली सहकारी डुब्दा हामी पनि जिम्मेबार हौँ भन्ने हेक्का राखेर चनाखो हुनुपर्थ्यो । एकै जनाले एउटा सहकारीमा १४ करोड सम्म पनि राखेको भेटियो, त्यत्रो पैसा बचत गर्दा सहकारीको अवस्था बुझ्नुपर्दैन ?’
उनले राज्यले ढुकुटीबाट पैसा दिने नभई सहकारी सञ्चालकलाई नै नियन्त्रणमा लिएर तिराइदिने प्रक्रिया चलिरहेको बताए । राज्यको नियामक निकाय सहकारीका सञ्चालक र नियामक निकायलाई नियन्त्रणमा लिएर पीडितसमक्ष राखेर पैसा तिराइदिने काममा लागिपरेको उनको भनाई छ ।
देश भित्रै वा बाहिर भएपनि खोजेरै ल्याएर पीडितको पैसा तिराएरै छाड्ने उपाध्यायले बताए । नियामक निकायले अनुगमन गर्दा सहि ट्र्याकमा नभएका सहकारीलाई ३ लाख सम्म जरिवाना गराउन सक्ने बताएका छन् ।